
धरान । धरानस्थित गल्फ कोर्समा आगामी माघ १६ र १७ गते ‘चिभास इस्टर्न गल्फ प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। कोशी प्रदेश गल्फ संघद्वारा आयोजित यस दुई दिने प्रतियोगितामा १ सय २० भन्दा बढी एमेच्योर गल्फरहरूको सहभागिता रहने छ।
प्रतियोगिताबारे जानकारी दिँदै कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले पूर्व क्षेत्रमा गल्फ खेलको प्रचार–प्रसार र यसको सम्भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार यो प्रतियोगिता एमेच्योरतर्फ पुरुष, महिला र सिनियर गरी तीन विधामा खेलाइने छ। यसले खेलाडीहरूलाई नयाँ पहिचान र एक्स्पोजर दिने विश्वास संघले लिएको छ।
प्रतियोगिताका लागि ‘चिभास रिगल’सँग साझेदारी गरिएको छ। संघका अध्यक्ष प्याकुरेलले काठमाडौँ र पोखरामा मात्र सीमित रहेको गल्फको आकर्षण अन्य सहरहरूमा पनि विस्तार गर्न यसले मद्दत गर्ने बताए। यस प्रतियोगिताले धरान र आसपासको पर्यटन क्षेत्रमा समेत नयाँ उत्साह भर्ने अपेक्षा गरिएको छ।
चिभास रिगलका कन्ट्री बिजनेस डेभलपमेन्ट म्यानेजर सौरभ भट्टराईले कम्पनीको गल्फसँग लामो सम्बन्ध रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासमा आफूहरू सधैँ सहकार्य गर्न तयार रहेको बताए। आगामी दिनमा काठमाडौँ बाहिर गल्फ खेलको विस्तार गर्नु नै आफूहरूको मुख्य प्राथमिकता रहने उनले स्पष्ट पारे।
प्रतियोगिताको सफल सञ्चालनका लागि इटहरीस्थित होटल रामाडा र धरान गल्फ क्लबले समेत सहयोग गर्ने भएका छन्। विजेता तथा उपविजेताहरूलाई ट्रफीसहित विभिन्न आकर्षक पुरस्कारहरू प्रदान गरिने आयोजकले जनाएको छ।

























