
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको हो। यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।
आइतबार प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एकैदिन ५ हजार २ सय रुपैयाँले बढेको छ। यसअघि माघ ९ गते पहिलोपटक सुनको मूल्यले ३ लाखको बिन्दु पार गरेको थियो।
यसैगरी चाँदीको मूल्य पनि आज ह्वात्तै बढेको छ। महासंघका अनुसार चाँदी तोलामा २ सय ८५ रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार डलर नाघेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। विश्वव्यापी रूपमा बढ्दो भू-राजनीतिक अस्थिरता र अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढावका कारण सुनको भाउ लगातार बढिरहेको व्यवसायीहरू बताउँछन्।

























