
विराटनगर । विराटनगरमा माघ १४ गतेदेखि ‘प्रथम कोशी एलाइट कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर माघको दोस्रो सातादेखि प्रतियोगिता हुने जानकारी गराएको हो ।
संघका अध्यक्ष सर्वजितराज पाण्डेले कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ सम्म कोशी एलाइट कप क्रिकेट प्रतियोगिता हुने जानकारी दिए । उनले विराटनगर–६ स्थित मेरिलेबन क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको बताए ।
प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका ३ वटा टोली झापा, मोरङ र सुनसरीको सहभागिता रहने छ । यस प्रतियोगिताले प्रधानमन्त्री कपको तयारीका लागि राम्रो हुने बताउँदै, अध्यक्ष पाण्डेले भने, ‘आगामी दिनमा क्यानको वार्षिक क्यालेन्डरमा एलाइट कपलाई समेट्नका लागि पहल गरिने छ । कोशी प्रदेशको खस्किएको साखलाई फर्काउनका लागि यस्ता प्रतियोगिताले ठुलो भूमिका खेल्ने छ । जति प्रतियोगिता भयो त्यत्ति नै खेल र खेलाडीको स्तरमा वृद्धि हुनेछ ।’
सो अवसरमा सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले नयाँ अवधारणासहित एलाइट कपको आयोजना हुनु गौरवको विषय भएको बताए । उनले प्रतियोगितालाई दीर्घकालीनसम्म लैजानु पर्नेमा जोड दिए ।
मोरङ अध्यक्ष मो. सादबाबुले एलाइट कपका लागि मोरङको तयारी राम्रो रहेको बताए । प्रतियोगिता निरन्तर रूपमा सञ्चालन हुन सके खेलाडीका लागि राम्रो हुने, उनले बताए ।
त्यस अवसरमा क्रिकेट खेलको प्रवर्द्धनका लागि कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनबीच क्रिकेट खेलको विकास गर्ने सम्झौता भएको छ । सम्झौताले भुँइ तहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउन्डेसनका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ । माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने बताइएको छ ।

























