
विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट’ को क्रिकेट र फुटबलमा कान्तिपुर र शिक्षादीप कलेज सेमिफाइनलमा पुगेका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको क्रिकेटतर्फ कान्तिपुर र शिक्षादीपले सेमिफाइनल यात्रा तय गरे ।
क्रिकेटको पहिलो खेलमा शिक्षादीपले रेडस्टार कलेजलाई १५ रनले हराउँदै अन्तिममा चारमा स्थान पक्का गरेको हो । टस जित्दै ब्याटिङ थालेको शिक्षादीपले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रनको लक्ष्य प्रस्तुत गयो । सत्यम् सदामले २१ रन बनाए । रेडस्टारका आयुर अधिकारीले ४ विकेट र सुधीर बस्नेतले ३ विकेट लिए ।
१ सय १७ रनको लक्ष्य पाएको रेडस्टारले १९ ओभर ५ बलमा सबै विकेटको क्षतिमा १ सय २ रन मात्रै बनायो । अभिषेक विकले १८ रन बनाए । शिक्षादीपका प्लेयर अफ म्याच सोनु सिंहले ४ विकेट लिए ।
अर्को खेलमा कान्तिपुर कलेजले कोबास कलेजलाई ९३ रनले हराउँदै सेमिफाइनलमा पुग्यो । टस जित्दै ब्याटिङ थालेको कान्तिपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९२ रनको चुनौती प्रस्तुत गर्यो । प्लेयर अफ द म्याच शम्भु मण्डलले ६१ रन र सन्तोष गुप्ताले ४१ रन बनाए । कोबासका अमरेश यादवले ५ विकेट लिए ।
१ सय ९३ रनको लक्ष्य पाएको कोबासले १५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९९ रनमै समेटियो । रन्जित राजवंशीले १९ रन बनाए । कान्तिपुरका सन्तोष गुप्ता र रामरतन यादवले समान २–२ विकेट लिए ।
त्यस्तै, फुटबलमा कान्तिपुर सेमिफाइनलमा प्रवेश गर्यो भने रेडस्टार र अर्किड क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कान्तिपुरले बुद्ध कलेजलाई ३–१ गोल अन्तरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ । कान्तिपुरका प्लेयर अफ द म्याच गौतम चौधरीले २ गोल र निशान्तकुमार चौधरीले १ गरे भने बुद्धका जतिनकुमार थारुले १ गोल फर्काए ।
अर्को खेलमा रेडस्टारले कोशी मोडेल कलेजलाई २–० गोलमा हराउँदै क्वाटरफाइनलमा पुग्यो । रेडस्टारका प्लेयर अफ म्याच मनिस लिम्बू र विजय मगरले १–१ गोल गरे ।
दिनको तेस्रो खेलमा अर्किडले होली चायल्ड कलेजलाई १–० गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्किडका प्लेयर अफ द म्याच विवेक खवासले १ गोल गरे ।
त्यसैगरी, भलिबलमा रेडस्टार, बिकेभिएम, कान्तिपुर र राष्ट्र निर्माण विजयी भएका छन् ।
भलिबलको छात्रतर्फ रेडस्टार, कान्तिपुर र बालकल्याण विद्या मन्दिर (बिकेभिएम) तथा छात्रातर्फ रेडस्टार र राष्ट्र निर्माण कलेज विजयी भए ।
छात्रतर्फ पहिलो खेलमा बिकेभिएमले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटमा हरायो । खेलको प्लेयर अफ द म्याच बिकेभिएमका सिशान्त पाण्डे भए ।
अर्को खेलमा कान्तिपुरले शिक्षादीपलाई २५–८ र २५–१८ को सोझो सेटमा पराजित गर्यो । प्लेयर अफ द म्याच कान्तिपुरका मिसन मगर भए ।
तेस्रो खेलमा रेडस्टारले भानु कलेजलाई २५–१२ र २५–१२ को सोझो सेटलले पराजित गरेको छ । प्लेयर अफ द म्याच रेडस्टारका सुरज राई भए ।
छात्रातर्फ पहिलो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गर्यो । प्लेयर अफ द म्याच रेडस्टारकी जेनिशा लामिछाने भइन् ।
अर्को खेलमा राष्ट्र निर्माण कलेजले बिकेभिएमलाई १३–२५, २५–२२ र २५–२२ को सेटमा पराजित गर्यो । प्लेयर अफ द म्याच राष्ट्र निर्माणकी रोनिशा थापा भइन् ।

























