
काठमाडौँ। आईसीसी टी-२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज मुम्बईमा पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले मुम्बई क्रिकेट एसोसिएसन प्रेसिडेन्ट ११ सँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल र एमसीए प्रेसिडेन्ट ११ बीचको यो टी-२० खेल साँझ ६:१५ बजेदेखि सीसीआई मैदानमा सुरु हुनेछ। भारत आउनुअघि नेपाली टोलीले श्रीलंकामा ‘श्रीलंका ए’ सँग तीनवटा अभ्यास खेल खेलेको थियो, जसमा नेपालले अन्तिम खेल जितेर शृंखलाको सुखद अन्त्य गरेको थियो।
विश्वकपअघिको खेल तालिका नेपालले मुम्बईमा शनिबार दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली चेन्नई प्रस्थान गर्नेछ, जहाँ फेब्रुअरी ३ मा यूएई र फेब्रुअरी ५ मा क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने तालिका छ। यी दुवै खेल चेन्नईको एमए चिदम्बरम रङ्गशालामा हुनेछन्।
विश्वकपको यात्रा टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले फेब्रुअरी ८ मा बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग समूह चरणका खेलहरू खेल्नेछ।

























