
विराटनगर । कराँतेकी स्टार खेलाडी एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासले विशेष सम्मान गरेको छ। बुधबार तमुधिं यूकेका पदाधिकारीसहित दूतावास पुगेकी ऐतिहासिक पदक विजेता एरिकालाई कार्यवाहक राजदूत विपिन दुवाडीले बधाई दिँदै स्वागत गरे। कार्यवाहक राजदूत दुवाडीले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उचो राखेकामा एरिकाको प्रशंसा गरे। उनले एरिकाको सफलतामा प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङको पनि महत्वपूर्ण भूमिका रहेको बताए।
सम्मानपछि बोल्दै एरिकाले दूतावासको आतिथ्यप्रति धन्यवाद दिइन् र आफू विश्वकै एक नम्बर वरियतामा पुग्ने लक्ष्यका साथ अघि बढिरहेको बताएकी छिन्। पछिल्लो समय खेलाडीहरू विदेश पलायन भइरहेकोप्रति संकेत गर्दै उनले आफू भने जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै देश नछोड्ने दृढता व्यक्त गरिन्। उनलाई तमुधिं यूकेले ५१ हजार रुपैयाँसहित ‘तमु प्रतिभा पुरस्कार–२०२४’ बाट समेत पुरस्कृत गरिसकेको छ।
विश्व वरियतामा १३औँ स्थानको फड्को टर्कीको इस्तानबुलमा सम्पन्न ‘कराँते वान प्रिमियर लिग’ मा रजत पदक जितेसँगै एरिकाले विश्व कराँते महासंघको वरियतामा ठूलो फड्को मारेकी छिन्। उनी महिला ६८ केजी माथि तौल समूहमा अहिले विश्वकै १३औँ स्थानमा पुग्न सफल भएकी छिन्। यो नेपाली कराँते इतिहासकै एक महत्वपूर्ण उपलब्धि हो। उनले पछिल्लो दुई वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्वका शीर्ष वरियताका खेलाडीहरूलाई समेत पराजित गरिसकेकी छिन्।
एरिकाको सफलताको सूची निकै लामो छ। उनले १०औँ विश्व सितोरियो कराँतेमा स्वर्ण, १९औँ एसियाली खेलकुदमा रजत र दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा चारवटा स्वर्ण पदक जितेकी छिन्। त्यसैगरी थाइल्यान्ड, यूएसए र अस्ट्रेलियन ओपनमा पनि उनले स्वर्ण पदक हात पारेकी थिइन्। नेपालमा २०८० र २०८१ सालमा लगातार ‘वेष्ट प्लेयर अफ द इयर’ बनेकी एरिका हाल बेलायतमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्पमा सहभागी हुन लन्डनमा छिन्।

























