
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठस्थित दिक्षालय स्कूलमा यही शनिबार सातौँ राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल योगासन खेलकुद संघको आयोजनामा हुन लागेको यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबाट मान्यता प्राप्त राष्ट्रियस्तरको खेलकुद इभेन्ट हो।
यस प्रतियोगितामा सातै प्रदेशका कुल ३३१ खेलाडीले आफ्नो सहभागिता सुनिश्चित गरेका छन्। सहभागी हुनेहरूमा २१८ महिला र ११३ पुरुष खेलाडी रहेका छन्। प्रदेशगत रूपमा हेर्दा बागमतीबाट ११९, कोशीबाट ४२, मधेशबाट २०, गण्डकीबाट १९, लुम्बिनीबाट १७, कर्णालीबाट १६ र सुदूरपश्चिमबाट १८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुष र महिलाको छुट्टाछुट्टै उमेर समूहमा प्रतिस्पर्धा गराइने आयोजकले बताए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि यो निकै महत्त्वपूर्ण अवसर हुनेछ। प्राविधिक कमिटीको छनोट र मूल्याङ्कनको आधारमा उत्कृष्ट खेलाडीहरूलाई भारतमा आयोजना हुने पहिलो विश्व योगासन खेलकुद प्रतियोगिता २०२६ का लागि नेपालको तर्फबाट चयन गरिनेछ। विजेताहरूलाई स्वर्ण, रजत र कास्य पदकका साथै प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। साथै सबै उमेर समूहका स्वर्ण पदक विजेताहरूमध्येबाट एक–एक जना उत्कृष्ट खेलाडी छनोट गरी पुरुषतर्फ ‘मिस्टर योगी’ र महिलातर्फ ‘मिस योगी’ को उपाधि र ट्रफी दिइने संघले बताए।
नेपाल योगासन खेलकुद संघले यसअघि नै विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। संघको नेतृत्वमा नेपाली खेलाडीहरूले मलेसिया र भारतमा भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण र रजतलगायतका विभिन्न पदक जितेर देशको गौरव बढाएका छन्।

























