
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढिरहे पनि त्यसको खपत कसरी गर्ने भन्ने स्पष्ट योजना राज्यसँग नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले विद्युत् निर्यातको अनुमति निजी क्षेत्रलाई दिनुपर्नेमा जोड दिए।
राजनीतिक दलहरूले चुनावका बेला विद्युत् निर्यात, खपत र व्यापारका नीति सुधार गर्ने बाचा गर्ने तर कार्यान्वयनमा ध्यान नदिने गरेको उनको गुनासो छ। अध्यक्ष कार्कीले विद्युत् उत्पादन गरेर मात्र नहुने भन्दै उत्पादित बिजुली किनिदिने ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए।
‘निजी क्षेत्रले उत्पादन गरेको विद्युत् विद्युत् प्राधिकरणले किनिदिने व्यवस्था हुनुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने वातावरण बनाउनुपर्छ,’ उनले भने। कार्कीले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन र उनीहरूको लगानी सुरक्षाका लागि ठोस नीति बनाउन समेत सरकारसँग माग गरे।

























