
पोखरा । पोखरामा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि सिर्जना बढुवाल र प्रजिता राईले गोल गरे भने भुटानकी सोनाम छोडेनले सान्त्वना गोल गरिन् । खेलको ३६औँ मिनेटमा सिर्जना बढुवालले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।
निर्धारित समय सकिन ११ मिनेट बाँकी रहँदा प्रजिता राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ८८औँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई खेलमा फर्काउने प्रयास गरिन् । तर, नेपालले बाँकी समय दबाब झेल्दै जित सुरक्षित गर्यो ।
उत्कृष्ट प्रदर्शन गरेकी सिर्जना बढुवाल प्लेयर अफ दी म्याच घोषित भइन् । यसअघि भएको खेलमा बंगलादेशले भारतलाई २–० ले हराएको थियो ।
२ खेलपछि नेपालले पहिलो जित हात पार्दा भुटानले लगातार दोस्रो हार बेहोरेको छ । अब बुधबार भारत र भुटान तथा नेपाल र बंगलादेशबीच खेल हुनेछन् । शीर्ष २ टोली फाइनलमा प्रवेश गर्नेछन् ।

























