
काठमाडौं । एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । एनसेलले सेवामा स्तरोन्नति गर्दै ‘भोइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भविष्यको फाइभजी नेटवर्कका लागि आधार तयार गर्ने तर्फ लक्षित भएको जनाएको छ ।
देशैभर फोरजी नेटवर्क विस्तार भइरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनुले अझ उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा गुणस्तरीय ‘कनेक्टिभिटी’को अनुभूति गराउने कम्पनीले जनाएको छ । योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवाहरू अब फोरजीमा आधारित भोल्टेमा सारिने छ ।
एनसेलले गत वर्ष घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताएको छ । माघ २२ गते एनसेलले कोशी प्रदेशका झापा, धनकुटा र तेह्रथुम जिल्लाका तहमा थ्रीजी सेवा बन्द गर्दै छ । कम्पनीले यी क्षेत्रका ग्राहकलाई एनसेलको भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ ।
भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रूपमा छिटो समयमा नै स्थापित हुन्छ । ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्नेछन् । *१२३*११# डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ।
फोरजी नेटवर्कमार्फत एनसेलले देशैभर भोल्टे सेवा प्रयोगमा ल्याइसकेको छ । भोल्टेमार्फत ग्राहकहरूले गुणस्तरीय भ्वाइसका साथै मोबाइल ब्रोडब्यान्ड सेवा हालकै शुल्कमा प्रयोग गर्न सक्छन् । एनसेलको फोरजी कभरेज देशभर झन्डै ९५ प्रतिशत जनसंख्या माझ पुगिसकेको छ र यही अनुसार भोल्टे सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

























