
विराटनगर । मोरङ उद्योग व्यापार संघले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी टोलीलाई एक औपचारिक कार्यक्रमका बीच स्वागत तथा भेटघाट गरेको छ । विराटनगर आएका वीरगञ्जको टोलीसँग संघले उद्योगी व्यवसायीका समसामयिक मुद्दा र दुई संस्थाबीचको सहकार्यका विषयमा छलफल गरेको हो ।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, कार्यकारिणी सदस्य विनीत सिंघानिया लगायतका पदाधिकारी एवं कार्य समिति सदस्यहरूले वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय मनोजकुमार दास र आशिषकुमार लाठको नेतृत्वमा आएको टोलीलाई स्वागत गरेका थिए ।
भेटघाटका क्रममा दुवै संघका प्रतिनिधिहरूले आपसी सद्भाव, सहकार्य र पारस्परिक सम्बन्ध विस्तारका विषयमा विचार विमर्श गरेका थिए ।
छलफलका क्रममा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज जस्ता प्रमुख आर्थिक कोरिडोरका उद्योगीहरूले भोग्नु परिरहेका व्यावहारिक समस्याबारे चर्चा गरे । उनले अन्य क्षेत्रको तुलनामा यी औद्योगिक क्षेत्रका व्यवसायीहरूले ‘ग्राउन्ड लेभल’ मा बढी समस्या झेल्नुपरेको बताउँदै ती साझा समस्या समाधानका लागि दुवै संघले संयुक्त रूपमा सरकारलाई सशक्त दबाब दिनुपर्नेमा जोड दिए ।
प्रमुख आर्थिक कोरिडोरका समस्याहरू समान प्रकृतिका छन्, उपाध्यक्ष सारडाले भने, ‘त्यसैले मोरङ उद्योग व्यापार संघ, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका संस्थाहरू एकजुट भएर सरकार समक्ष माग राख्नु आजको आवश्यकता हो ।’
त्यस्तै, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रका समस्या समाधानका लागि मोरङ उद्योग व्यापार संघले खेल्दै आएको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे । उनले उद्योगी व्यवसायीहरूको साझा हित र हकहितका लागि आफ्नो संघ सदैव सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटघाट कार्यक्रमले दुई ठुला औद्योगिक नगरीका व्यावसायिक संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै आगामी दिनमा निजी क्षेत्रका चुनौतीहरू विरुद्ध साझा रणनीति तय गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

























