
नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यसपटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् ।
राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँगको कुराकानीमा सरकारले निर्वाचन सम्पन्न गराउन ठूलो आर्थिक तयारी गरिरहेको बताइन् । उनका अनुसार निर्वाचनका लागि भौतिक साधनको व्यवस्थापन, सुरक्षाका प्रबन्ध, कर्मचारी परिचालनलगायत विभिन्न शीर्षकमा ठूलो खर्च भइरहेको छ ।
निर्वाचन सर्ने हल्लाबारे उठेको प्रश्नमा प्रधानमन्त्री कार्कीले निर्वाचन नसर्ने दाबी गरिन् । ‘चुनाव किन सार्नु ? ३१–३२ अर्ब रुपैयाँ खर्च भइरहेको छ । यो कुनै सानो रकम होइन,’ उनले भनिन्, ‘भौतिक साधनको अभाव पूर्ति गर्न, आवश्यक तयारी पूरा गर्न ठूलो खर्च भइसकेको छ । विभिन्न देशबाट सहयोग पनि आएको छ । यदि निर्वाचन नहुने अवस्था आएको भए त्यो सहयोग अर्कै क्षेत्रमा प्रयोग हुन्थ्यो ।’
प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन क्रियाशील रहेको बताउँदै जसरी पनि निर्वाचन हुने दोहोर्याइन् । उनका अनुसार नयाँ जनप्रतिनिधि चयन भएपछि वर्तमान सरकारले विधिवत् रूपमा सत्ता नयाँ सरकारलाई हस्तान्तरण गर्नेछ ।
कुनै स्थानमा असहज परिस्थितिका कारण निर्वाचन रोकिएमा दोस्रो चरणमा भएपनि चुनाव सम्पन्न गराइने प्रधानमन्त्रीको भनाइ छ । हिमाली जिल्लामा चिसोका कारण समस्या आएमा सवारीसाधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि मतदान गराइने उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको भन्दै सुरक्षाका सबै आवश्यक तयारी पूरा गरिएको दाबी गरिन् ।

























