
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव हुने हल्ला फैलिएपछि नेपाल आयल निगमले उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। अभावको डरले उपभोक्ताले घरमा ग्यास थुपार्न थालेपछि बजारको आपूर्ति प्रणालीमा केही दबाब देखिएको निगमको निष्कर्ष छ।
निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए। उनले आगामी फागुन २१ को निर्वाचन अवधिभर पनि ग्यास आपूर्तिलाई निरन्तर र सहज बनाउन विशेष व्यवस्था मिलाइएको जानकारी दिए।
पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा ग्यासको आयात उल्लेख्य छ। शनिबार ११८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिन्डर), सोमबार ११५ बुलेट (१ लाख ४५ हजार ७ सय सिलिन्डर) र मंगलबार १३२ बुलेट (१ लाख ६७ हजार ३ सय सिलिन्डर) ग्यास लोड भएको छ। तीमध्ये धेरै बुलेटहरू नेपाल भित्रिसकेका र केही बाटोमै रहेकाले बजारमा ग्यासको कुनै अभाव नहुने भट्टले स्पष्ट पारे।

























