
विराटनगर । सुनसरीको धरानमा जारी ‘२६ औँ संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल’ प्रतियोगितामा पाहुना टोली भारतलाई पराजित गर्दै आयोजक धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताअन्तर्गत बिहीबार भएको उद्घाटन खेलमा धरानले भारत कालिम्पोङको जर्जियन क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो । प्रतियोगितामा साबिक विजेता एनआरटी, उपविजेता चर्च ब्वाइजसहित सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसोसिएसन, झापा ११, जर्जियन क्लब भारत, रोयल थिम्पु भुटान र आयोजक धरान फुटबल क्लब गरी १० टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार प्राप्त गर्ने छन् ।

























