
धरान । झापा ११ धरानमा जारी ‘२६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल’ प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
धरान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा झापाले पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
खेलको ३६ औँ मिनेट झापाका सुनिल खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ६३ औँ मिनेटमा झापाका राजेश दाहालले गोल संख्या दोब्बर पार्दै टोलीलाई जिताए । खेलको प्लेयर अफ द म्याच झापाका राजेश दाहाल भए ।
प्रतियोगिताअन्तर्गत शनिबारको खेल काठमाडौंको प्लानिङ ब्वाईजजेट युनाइटेड र काठमाडौंकै न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

























