
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२५ अङ्कले घटेर २६९८.४४ बिन्दुमा झरेको छ। यो अघिल्लो कारोबारको तुलनामा ०.३७ प्रतिशतको गिरावट हो।
आइतबार ‘अन्य’ र ‘लगानी’ उपसूचकबाहेक बाँकी सबै समूहको मूल्य घटेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन उपसूचकका लगानीकर्ताले २.१३ प्रतिशतले गुमाएका छन्। बजार घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३३० धितोपत्रको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा कुल ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बजार घटेका बेला पनि सुपर माई हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यसैगरी रिडी पावर कम्पनी, खानीखोला हाइड्रो र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले पनि आज राम्रो आम्दानी गरेका छन्। कारोबार रकमका आधारमा आज सुपर मादी हाइड्रोपावर अग्रस्थानमा रहेको छ।
घट्ने कम्पनीहरूमा कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८.९१ प्रतिशतले गुमाएका छन्। यसबाहेक कर्पोरेट विकास बैंक र नारायणी विकास बैंकको सेयर मूल्य पनि उल्लेख्य रूपमा ओरालो लागेको छ।

























