
काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ घटाएको छ। नेपालमा उत्पादन बढेको र भारतबाट ठूलो परिमाणमा अन्डा भित्रिएका कारण मूल्य घटाउनुपरेको संघले जनाएको छ।
नयाँ दरअनुसार ठूलो अन्डाको मूल्य प्रतिक्रेट ३ सय ७५, मिडियमको ३ सय ४५ र एक्सएल अन्डाको ३ सय ९० रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अन्डा प्रतिक्रेट ४ सय ३५ र मिडियम ४ सय ५ रुपैयाँमा बिक्री भइरहेको थियो। गत मंसिरमा अन्डाको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेर प्रतिक्रेट ५ सय ६५ रुपैयाँसम्म कायम भएको थियो।
संघका अध्यक्ष विनोद पोखरेलले भारतीय सेतो अन्डा सस्तो मूल्यमा भित्रिएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताए। प्रशासनले प्रभावकारी अनुगमन गर्न नसक्दा भारतीय अन्डाको प्रभाव बजारमा देखिएको र किसानहरूले भाउ घटाउन बाध्य भएको उनको भनाइ छ।

























