
धरान । पाहुना टोली पोखराको लालीगुराँस एफसी आयोजकलाई हराउँदै २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरानमा जारी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै पोखराले अन्तिम चारमा स्थान पक्का गरेको हो । खेलको निर्धारित समय ९० मिनेटमा दुवै टोली गोलरहित बराबरीमा खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।
जसमा पोखराका राम थापा, टीकाराम गुरुङ, सुदीप गुरुङ, अब्दुल युसुप र आशिष गुरुङले गोल गर्दै टोलीलाई विजयी बनाए । आयोजक धरानका विवेक राई, सविन राई, नगेन राई र प्रज्ज्वल थापाले गोल गरे भने दोर्जे तामाङले गोल गर्न चुकेपछि खेल पाहुना टोलीलाई सुम्पन्नु पर्यो ।
खेलको प्लेयर अफ द म्याच पोखराका कुम्बा देउवा भए । प्रतियोगिताअन्तर्गत मंगलबारको खेल काठमाडौंको सातदोबाटो युथ क्लब र झापा ११ झापाबिच हुने आयोजकले जनाएको छ।

























