
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति र बिक्री–वितरण सहज भइरहेकाले उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। निर्वाचन नजिकिँदै जाँदा बजारमा ग्यासको अभाव हुन सक्ने आशंकाबीच निगमले विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक पर्ने मात्र ग्यास खरिद गर्न आग्रह गरेको हो।
आसन्न आमनिर्वाचनलाई ध्यानमा राख्दै ग्यासको आपूर्ति बढाउन फेब्रुअरी महिनाको निर्धारित कोटामा थप दुई हजार मेट्रिक टन आयातको व्यवस्था मिलाइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए। उनका अनुसार अहिले दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको छ।
काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति गर्ने २३ वटा उद्योगमध्ये केहीले मात्रै दैनिक करिब ४० हजार सिलिन्डर बजारमा पठाइरहेका छन्। निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको र सबै उद्योगबाट ग्यास नियमित उत्पादन भइरहेकाले ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको छ।

























