
काठमाडौँ। साताको कारोबार हुने दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ। नेप्से परिसूचक आज ०.०४ अंकले घटेर २६६२.०९ विन्दुमा थामिएको हो।
बजारमा उतारचढाव देखिए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ। कुल ३२९ कम्पनीका २ करोड २२ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६९ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज ११३ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा १३३ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो।
आजको बजारमा जलविद्युत क्षेत्रका कम्पनीहरूले लगानीकर्तालाई सबैभन्दा धेरै कमाएका छन्। रिडी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको मूल्य ८.६८ प्रतिशत र आँखुखोला जलविद्युत कम्पनीको मूल्य ७.२१ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमको आधारमा पनि रिडी पावर कम्पनी नै शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसैगरी, आँखुखोला जलविद्युतको ६२ करोड १३ लाख र सिंगटी हाइड्रोको ५८ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

























