
काठमाडौं । काठमाडौंमा ‘दोस्रो पुरुष / महिला राष्ट्रिय हक्की’ प्रतियोगिता सोमबारदेखि हुने भएको छ । शुक्रबार नेपाल हक्की संघले पत्रकारका सम्मेलनको आयोजना गरेर फागुन ४ गते सोमबारदेखि राष्ट्रिय हक्की प्रतियोगिता हुने जानकारी दिएको हो ।
प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टोलीको सहभागिता रहेको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
महिलामा गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम र बाग्मती प्रदेशसहित ५ टिमको सहभागिता रहने छ । राउन्ड रोबिन लिगपछि शीर्ष २ स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
दुवै समूहमा शीर्ष ३ स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई ५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगदबाट पुरस्कृत गरिने छ ।
महासचिव श्रेष्ठले यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट गरी प्रशिक्षणका लागि आवश्यक प्रबन्ध मिलाइने बताइन् । श्रेष्ठले ग्रास रुट तहदेखि नै हक्कीको विकास गर्ने उद्देश्यले विद्यालयमा हक्की विस्तारको अभियानमा संघ क्रियाशील रहेको बताइन् ।
फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । हक्की संघकै आयोजनामा दशरथ रंगशालामा पहिलो पटक हक्कीको प्रतियोगिता हुन लागेको हो ।

























