
विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा इटहरीको हाम्रो इटहरी भेट्रान क्लब पुगेको छ ।
मिल्स भेट्रान क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा इटहरीले धरानको हाम्रो धरान भेट्रान एफसीलाई १–० गोल अन्तरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
खेलको १५ औँ मिनेटमा धरानका कुमार तामाङबाट आत्मघाती गोल भएपछि इटहरीको जित सहज बनेको थियो । डिबक्सभित्र तामाङले आफ्नो गोलरक्षकलाई बल दिँदै बलले सिधै जाली चुमेपछि इटहरीले सहजै अग्रता लिएको थियो । तामाङले गरेको आत्मघाती गोल मद्दतले इटहरीले जित निकालेको हो ।
त्यस्तै, अर्को खेलमा विराटनगरको युनाइटेड भेट्रान क्लबले पथरीशनिश्चरे भेट्रान क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइलनमा पुगेको छ । विराटनगरका लागि महेन्द्र खवासले खेलको अन्तिम समयमा गोल गर्दै टोलीलाई विजयी बनाए । खवास खेलको प्लेयर अफ द म्याच भए ।
प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल विराटनगरको मिल्स एरिया भेट्रान र जहदाको एभरेस्ट भेट्रान क्लब तथा दोस्रो खेल मिल्स एरिया (रातो) र सुनसरी भेट्रानबीच खेल हुनेछ ।

























