
विराटनगर । विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) र इटहरीको हाम्रो इटहरी भेट्रान्स क्लब शनिबार खेल्ने छन् ।
प्रतियोगिताअन्तर्गत बिहीबारको आयोजकले विराटनगरकै युनाइटेड भेट्रान्स क्लबलाई १–० गोलमा हराउँदै उपाधि नजिक पुगेको हो । खेलको २१ औँ मिनेटमा आयोजकका सुरज श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।
पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको युनाइटेडले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गरे पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिनु पर्यो ।
खेलको प्लेयर अफ द म्याच आयोजक टोलीका जय देवकोटा भए । प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्ने छन् ।

























