
विराटनगर । विराटनगरको आदर्श माध्यमिक विद्यालयले ६ वटा आधारभूत विद्यालयलाई खेलकुद सामग्री दिएको छ ।
विराटनगर महानगरपालिकाले आयोजना गरेको फुटबल प्रतियोगितामा प्राप्त पुरस्कार राशिबाट विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका ६ सामुदायिक आधारभूत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
गत माघ पहिलो साता सम्पन्न भएको प्रतियोगितामा विजेता भएको आदर्श माविले प्राप्त गरेको १ लाख २५ हजारमध्येबाट खेल सामग्री खरिद गरी आधारभूत विद्यालयलाई दिएको हो ।
विद्यालय प्रधानाध्यापक सन्तोष पोखरेलका अनुसार पुरस्कार रकमलाई प्रत्यक्ष रूपमा खेल पूर्वाधार अभिवृद्धिमा लगानी गर्दै सामुदायिक विद्यालयहरूसँग सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ ।
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले विजेता विद्यालयले पुरस्कार रकमलाई सामाजिक सरोकारसँग जोडेको कदम उदाहरणीय रहेको बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी इन्द्रबहादुर चौहानले प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिलाई सामुदायिक हितमा रूपान्तरण गर्नु नै संस्थागत उत्तरदायित्व भएको उल्लेख गरे । उनका अनुसार खेल सामग्री वितरणले विद्यालयबीच सहकार्यको वातावरण सुदृढ बनाउने र खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।
बाल मन्दिर आधारभूत विद्यालय, सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय, सहिद आधारभूत विद्यालय, सत्यनारायण आधारभूत विद्यालय, महामाया भगवती आधारभूत विद्यालय र शंकरपुर आधारभूत विद्यालयलाई खेल सामग्री प्रदान गरिएको हो ।
यसै अवसरमा विद्यालयको ९७ औँ वार्षिकोत्सवका सन्दर्भमा आयोजित विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

























