
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो सात महिनामा नेपालबाट ८ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको ४ हजार १५३.१५ मेट्रिक टन अलैँची विदेश निर्यात भएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अलैँची निर्यातको अवस्था उत्साहजनक देखिएको छ। गत वर्ष माघ मसान्तसम्म ८ अर्ब ३९ करोड ७६ लाख ९० हजार रुपैयाँको ३ हजार २८.४९ मेट्रिक टन अलैँची निर्यात भएको थियो। विभागको तथ्याङ्कले यस वर्ष अलैँचीको निर्यात मूल्य र परिमाण दुवैमा बढोत्तरी भएको पुष्टि गरेको छ।
चालु वर्षमा निर्यात भएको अलैँचीको कुल मूल्य अघिल्लो वर्षको तुलनामा ३ अर्ब २१ करोड ४३ लाख १७ हजार रुपैयाँले बढी छ। त्यसैगरी, निर्यात परिमाणमा पनि १ हजार १२४.६६ मेट्रिक टनले वृद्धि भएको देखिएको छ। नेपाली अलैँचीको मुख्य बजार भारत रहे पनि पछिल्लो समय यसको बजार विस्तार गर्ने प्रयासहरू भइरहेका छन्।

























