
काठमाडौं । नेपाल कृषिप्रधान देश भनिए तापनि खाद्यान्नमा परनिर्भरता झन् बढ्दै गएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिना (साउनदेखि माघसम्म) को तथ्यांक अनुसार नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ३७ करोड ५२ लाख रुपैयाँको आयात भएको थियो। समग्र आयात रकममा सामान्य वृद्धि देखिए पनि यस वर्ष स्वदेशमा धान ल्याएर कुट्नुको सट्टा सिधै तयारी चामल भित्र्याउने प्रवृत्ति निकै बढेको तथ्यांकले देखाउँछ। गत वर्षको तुलनामा धानको आयात घटेर १२ अर्ब ७४ करोडमा झरेको छ भने तयारी चामलको आयात बढेर ७ अर्ब २४ करोड पुगेको छ।
विशेषगरी महँगो मानिने बासमती चामल र कनिकाको आयातमा अस्वाभाविक वृद्धि भएको छ। गत वर्ष मात्र ८८ टन कनिका आयात भएकोमा यस वर्ष ६ हजार २ सय ६८ टन पुगेको छ। त्यस्तै बासमती चामलको आयात पनि ५ अर्ब १२ करोड रुपैयाँ बराबरको भएको छ। धानको बिउ र ब्राउन राइसको आयातमा पनि वृद्धि देखिएको छ।
धानचामलको आयात बढे पनि सरकारले पाउने भन्सार राजस्व भने खुम्चिएको छ। गत वर्षको ७ महिनामा २ अर्ब ३१ करोड राजस्व संकलन भएकोमा यस वर्ष घटेर १ अर्ब ७७ करोडमा सीमित भएको छ। धेरै राजस्व उठ्ने धानको आयात घट्नु र चामलको राजस्व दरमा भएको परिवर्तनले यसमा असर पारेको हो।
मुख्य खाद्यान्नकै लागि अर्बौँ रुपैयाँ विदेशिँदा देशको व्यापार घाटा चुलिनुका साथै कृषिमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्यमा ठुलो चुनौती थपिएको छ।

























