
काठमाडौं। पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियारसहित मुछिएको भ्रष्टाचार मुद्दामा आज सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ मा रहेको यो मुद्दाको सुनुवाइ हुन लागेको हो।
गुणस्तरहीन पुल बनाएको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेपछि हरिनारायण रौनियारसहित ८ जनाले सर्वोच्चमा पुनरावेदन गरेका थिए। त्यस्तै, विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्च पुगेको थियो। अदालतले अहिले दुवै पक्षका पुनरावेदनलाई एकैसाथ राखेर सुनुवाइ गरिरहेको छ।
यसअघि विशेष अदालतले पप्पु कन्सट्रक्सनले गुणस्तरहीन पुल बनाएको ठहर गर्दै हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई दोषी देखाएको थियो। अदालतले उनीहरू दुवैलाई जनही साढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

























