एन्फाबाट उपचारको सहयोग नपाएपछि  ‘साम्बा’ले गरिन् समर्थकलाई अपिल 

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १७:४७
 एन्फाबाट उपचारको सहयोग नपाएपछि  ‘साम्बा’ले गरिन् समर्थकलाई अपिल 

विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि समर्थकहरूलाई आर्थिक सहयोग गर्न अपिल गरेकी छन् । नेपाली महिला फुटबलमा गोल मेसिन र ‘साम्बा’ का नामबाट चर्चित स्टार स्ट्राइकर भण्डारीले आफ्नो सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी हुन् ।

उनले आफ्नो उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पछि हटेको आरोप लगाएकी छन् । घुँडाको गम्भीर चोटको उपचारका लागि एन्फाबाट अपेक्षित सहयोग नपाएपछि उनले आम समर्थकहरूसँग आर्थिक सहयोगको अपिल गरेकी हुन् ।

‘पछिल्लो पटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यस बेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जस कारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ । तर, यस पटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ साता पछिका लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो ।  तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दा पनि वहाँहरूलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो,’ उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

अस्ट्रेलियाको व्यावसायिक लिग ‘निन्जा ए लिग’ खेल्ने क्रममा गत पुसको तेस्रो साता साम्बा घाइते भएकी थिइन् । न्युजिल्यान्डको क्लब ‘वेलिङटन फोनिक्स’ बाट ब्रिसबेन रोअरविरुद्ध खेल्दा विपक्षी गोलकिपरसँग ठोक्किएर उनको दाहिने घुँडाको ‘एसिएल’ र ‘एमसिएल’ पूर्ण रूपमा च्यातिएको थियो ।

चोट लागेको सात साता बितिसक्दा पनि साम्बाको शल्यक्रिया हुन सकेको छैन । साम्बाले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एन्फा नेतृत्वले सुरुमा सहयोगको आश्वासन दिएर प्रक्रिया अलमलमा पारेको र अन्त्यमा प्रशासनिक सहयोग गर्न नसकिने बताएको उल्लेख गरेकी छन् ।

साम्बाले आफ्नो शल्यक्रिया कतारको ‘अस्पेटार’ अस्पतालमा गराउन चाहेकी छन् । यसअघि पनि एन्फाकै पहलमा सोही अस्पतालमा गरिएको शल्यक्रिया र रिह्याब प्रभावकारी भएकाले उनी पुनः त्यहीँ जान चाहन्छिन् ।
उनको हालको क्लब वेलिङटन फोनिक्सले बिमामार्फत आउने रकम निकासा गरिदिने र न्युजिल्यान्डमै उपचार गर्न तयार रहेको बताए पनि साम्बाले कतारको उपचार रोजेकी हुन् ।

तर, बिमाको रकमले कतारमा शल्यक्रिया र ७ / ८ महिनाको रिह्याब खर्च धान्न नसक्ने उनले बताएकी छन् । साम्बाका अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन गरिएको छ ।
एन्फाभित्र ‘क्लबका लागि खेल्दा चोट लागेको’ भन्ने तर्क सुन्दा आफू निराश भएको साम्बाले बताएकी छन् । उनले आफूले इजरायल, फ्रान्स वा अस्ट्रेलिया जहाँ खेले पनि नेपालकै नाम राखेको र राष्ट्रको पहिचान बोकेको स्मरण गराएकी छन् ।

‘आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिने आम समर्थकहरू नै हुनुहुन्छ,’ उनले लेखेकी छन्, ‘यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कने छु । थाकेको हो, हारेको छैन । पुनः एक पटक नेपालको जर्सी लगाएर मैदानमा फर्कने छु । जय नेपाल !’

मैदान फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्ने भएकाले उनले स्वदेश तथा विदेशमा रहेका समर्थकलाई आर्थिक सहयोगका लागि क्युआर कोड र अनलाइन लिंकमार्फत आग्रह गरेकी छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.