फाइल तस्बिरकाठमाडौं। नेपालको कुल वैदेशिक व्यापारमा सुधारका संकेत देखिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनाको तथ्यांकअनुसार वैदेशिक व्यापार १५.७६ प्रतिशतले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा निर्यातको वृद्धिदर आयातको तुलनामा निकै उत्साहजनक देखिएको छ। निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने आयात १३.६५ प्रतिशतले वृद्धि भई ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
व्यापारको आकार बढेसँगै नेपालको व्यापार घाटा पनि १०.९१ प्रतिशतले बढेर ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। यद्यपि, कुल व्यापारमा निर्यातको हिस्सा ११.४० बाट बढेर १३.०२ प्रतिशत पुग्नु र आयात–निर्यात अनुपात ६.६८ मा झर्नुलाई अर्थतन्त्रका लागि सकारात्मक सूचक मानिएको छ। आयाततर्फ सबैभन्दा बढी ७० अर्ब ९९ करोडको कच्चा सोयाबिन तेल र ६९ अर्ब ९१ करोडको डिजेल नेपाल भित्रिएको छ। स्मार्टफोन मात्रै २६ अर्ब ६८ करोड रुपैयाँको आयात भएको देखिन्छ।
निर्याततर्फ नेपालले सबैभन्दा बढी ८ अर्ब ६१ करोडको अलैंची र ६ अर्ब ६७ करोडको प्रशोधित सोयाबिन तेल विदेश पठाएको छ। भन्सार नाकाहरूमध्ये वीरगन्ज भन्सारले कुल आयातको ४६.२० प्रतिशत हिस्सा ओगट्दै आफ्नो वर्चस्व कायम राखेको छ। यस्तै भैरहवाबाट १४.६९ प्रतिशत र विराटनगरबाट १२.०५ प्रतिशत आयात भएको छ। वैदेशिक व्यापारमा अझै पनि भारतकै हिस्सा सबैभन्दा ठूलो रहेको विभागको तथ्यांकले स्पष्ट पारेको छ।

























