
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेनालाई नियुक्त गरेको छ ।
बिहीबार एन्फा मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच एन्फा महासचिव किरण राई र प्रशिक्षक एरेनाबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मुख्य प्रशिक्षकको पर्खाइमा रहेको नेपाली टोलीले अब एरेनाको प्रशिक्षणमा नयाँ दिशा लिने अपेक्षा गरिएको छ ।
नवनियुक्त प्रशिक्षक एरेनाले आगामी मार्च महिनादेखि नेपाली टोलीको पूर्ण रूपमा बागडोर सम्हाल्ने छन् । अन्तर्राष्ट्रिय फुटबलमा राम्रो अनुभव बटुलेका एरेनाको आगमनले नेपाली फुटबलको स्तर सुधार्न र आगामी प्रतियोगिताहरूमा टोलीलाई थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास एन्फाले लिएको छ ।
नेपाली फुटबल फ्यानहरूले पनि नयाँ प्रशिक्षकको आगमनलाई उत्साहका साथ हेरेका छन् । मार्चमा हुने अन्तर्राष्ट्रिय खेलहरू एरेनाका लागि पहिलो परीक्षा हुनेछन् ।

























