
काठमाडौं । आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा एएफसी कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ।
नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ४९ सदस्यीय जम्बो टोलीको घोषणा गरेका हुन् ।
नेपालले चैत १२ गते घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। यो खेललाई विशेष गरी मार्च ३१ (चैत १७ गते) मा लाओसविरुद्ध हुने एएफसी कप छनोटको तेस्रो चरणको अन्तिम खेलको तयारीको रूपमा लिइएको छ।
मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि एरिनाको यो पहिलो ठुलो प्रशिक्षण अभियान हो । उनले नेपाली टोलीको मुख्य कमजोरीका रूपमा रहेको ‘गोल स्कोरिङ’ मा सुधार ल्याउनु आफ्नो पहिलो लक्ष्य भएको बताएका छन् ।
प्रारम्भिक टोलीमा परेका खेलाडी
टोलीमा अनुभवी खेलाडीका साथै नयाँ अनुहारलाई पनि स्थान दिइएको छ। टोलीमा कप्तान किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट र भरत खवास जस्ता स्थापित नामहरू रहेका छन् ।
छनोट भएका अन्य खेलाडीहरूमा अभिषेक लिम्बू, आदित्य शाक्य, अजय चौधरी, एरिक विष्ट, आविष्कार खड्का, आयुष घलान, विशाल सुनार, दीप कार्की, दीपेश गुरुङ, दिनेश हेन्जन, दिवाकर चौधरी, जर्जप्रिन्स कार्की, जिलेस्पीजंग कार्की, किरण सुनार, कृतीशरत्न छुन्जु, कुशल देउवा, लक्षु थापा, लाकेन लिम्बू, र मणि लामा रहेका छन्।
त्यसैगरी, मनिष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदमकुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, प्रतापसिंह राई, रामबाबु कुमार शाह, रोहन कार्की, रोमन भुजेल, सकल रेग्मी, सनिस श्रेष्ठ, सरज तामाङ, शंकर थारु, सृजनराज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगे धिमाल, योगे गुरुङ र युवराज खड्काले पनि ४९ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।
प्रशिक्षक एरिनाले बन्द प्रशिक्षणमा खेलाडीहरूको प्रदर्शन र क्षमता हेरेर अन्तिम टोलीको छनोट गर्नेछन्। घरेलु दर्शकको अगाडि हङकङविरुद्ध हुने खेलले नेपाली टोलीको वर्तमान अवस्था र तयारीलाई मापन गर्ने विश्वास लिइएको छ।

























