
विराटनगर। अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी ‘अर्ली इलेक्सन’ को मिति नजिकिँदै गर्दा नेपाली फुटबलमा नयाँ विवाद र तरंग उत्पन्न भएको छ। चैत १३ गते झापामा हुने तय भएको यस निर्वाचनमा कोशी प्रदेशको फुटबल शक्तिको केन्द्र मानिने मोरङ जिल्ला इतिहासमै पहिलो पटक मताधिकारबाट बाहिरिएको छ।
खेलाडी उत्पादन र फुटबल राजनीतिमा सधैं निर्णायक भूमिका खेल्ने मोरङ यस पटक आपसी तालमेल नमिल्दा ‘भोटिङ राइट्स’ गुमाउन पुगेको हो। कोशी प्रदेशका १४ जिल्लामध्ये ११ जिल्ला संघ एन्फामा आबद्ध छन्, जसमध्ये नियमानुसार १० जिल्लाले मात्र मताधिकार पाउँछन्। अघिल्लो निर्वाचनमा सहमतिमा खोटाङ बाहिरिएको थियो भने यस पटक मोरङलाई कित्ता बाहिर राखिएको छ।
यो निर्णयको पछाडि राजनीतिक खिचातानी मुख्य कारण रहेको बुझिएको छ। मोरङबाट वर्तमान अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी सञ्जीव बुढाथोकी र वर्तमान केन्द्रीय सदस्य दीपेन्द्र धिमाल दुवैले केन्द्रीय सदस्यमा दाबेदारी प्रस्तुत गरेका छन्। आफू अनुकूलको मतदाता नदेखिएको भन्दै एक पक्षले बुढाथोकीलाई मताधिकारबाट वञ्चित गराएको चर्चा फुटबल वृत्तमा छ। यस विषयमा अध्यक्ष बुढाथोकीले केन्द्रीय पदाधिकारीले विषयलाई मिलाउन नसक्दा यस्तो अवस्था आएको बताए।
यता, राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन रोक्न निर्देशन दिए पनि संघ भने तयारीमा जुटिरहेको छ। जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नवीन राईले पछिल्लो समयको अस्थिरता अन्त्य गर्न निर्वाचन नै एकमात्र विकल्प भएको बताए। उनले चरम गुटबन्दीका कारण काम गर्ने वातावरण नभएको उल्लेख गर्दै विधान अनुसार हुने निर्वाचनले नै फुटबललाई सही निकास दिने विश्वास व्यक्त गरे।
कोशी प्रदेशका ११ जिल्लामध्ये ओखलढुंगा, तेह्रथुम र सोलुखुम्बु अहिलेसम्म एन्फामा आबद्ध छैनन्। बाँकी ११ मध्ये १० जिल्लाले मतदान गर्नेछन् भने मोरङ लगायतका उम्मेदवारहरू मताधिकार बिना नै चुनावी मैदानमा उत्रनुपर्ने स्थिति सिर्जना भएको छ।

























