भारतमा मौसमी संकट, ९४ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १०:३४

एजेन्सी । भारतका विभिन्न राज्यहरूमा चरम मौसमी संकट देखिएको छ । मौसमी संकटले ठूलो मानवीय क्षति पुर्याएको छ ।

उत्तर प्रदेशमा आएको शक्तिशाली हावाहुरी र आँधीका कारण बुधबार मात्रै ९४ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति प्रयागराज र भदोही क्षेत्रमा भएको छ । त्यहाँ क्रमशः १७ र १६ जनाको ज्यान गएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

स्थानीय सञ्चारमाध्यमका अनुसार हावाहुरीको गति करिब ८० किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो । यसले धेरै ठाउँमा घरका छाना उडाउनुका साथै रूख ढलाउने, विद्युत् संरचना भत्काउने जस्ता क्षति पुर्‍याएको छ ।

केही स्थानमा मानिसहरू जस्तापातासँगै उडेको र आकस्मिक आँधीले जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनाएको विवरण सार्वजनिक भएका छन् । बाँदा क्षेत्रमा तापक्रम ४५.४ डिग्री सेल्सियससम्म पुगेको छ । मौसम विभागले आगामी दिनमा अझै धेरै स्थानमा तीव्र हावाहुरी र वर्षाको सम्भावना रहेको भन्दै सतर्कता जारी गरेको छ ।

उता राजस्थानमा लगातार कडा गर्मी र लूका कारण जनजीवन प्रभावित भएको छ । जैसलमेर लगातार चौथो दिन पनि देशकै सबैभन्दा तातो सहर बनेको छ । जहाँ तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ । बीकानेर, जोधपुर, जैसलमेर र बाडमेर क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ भने थप १३ जिल्लामा लूको चेतावनी दिइएको छ ।

त्यसैगरी मध्य प्रदेशका २५ भन्दा बढी जिल्लामा लू चलिरहेको छ । यो अवस्था १८ मेसम्म जारी रहने अनुमान गरिएको छ । खजुराहोमा तापक्रम ४५.४ डिग्री सेल्सियस पुगेको छ भने इन्दौर, उज्जैन, धार र रतलाममा उच्च जोखिमको ओरेन्ज अलर्ट जारी गरिएको छ । यी जिल्लाहरूमा तातो रातको चेतावनीसमेत दिइएको छ ।

हरियाणामा पछिल्लो २४ घण्टामा तापक्रम १.२ डिग्री सेल्सियसले बढेको छ । धेरै सहरमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । जसमा नारनौलमा ४२.५ डिग्री सेल्सियस मापन गरिएको छ । आगामी दिनमा लूको जोखिम अझ बढ्ने चेतावनी दिइएको छ ।

बिहारका पूर्णिया र कटिहारसहित सात जिल्लामा भारी वर्षाको ओरेन्ज अलर्ट जारी गरिएको छ । यता उत्तराखण्डका पहाडी जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षाको येलो अलर्ट जारी गरिएको मौसम विभागले जनाएको छ ।

भारतका विभिन्न भागमा एकैसाथ देखिएको आँधी, लू र वर्षाको मिश्रित मौसमी अवस्थाले जनधनको क्षति बढाइरहेको छ । मौसम विभागले आगामी दिनहरू अझ संवेदनशील रहने चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.