
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो फिजियोथेरापी सेवालाई थप आधुनिक र सुविधा सम्पन्न बनाएको छ । सन् २०१६ देखि सेवा प्रदान गर्दै आएको हस्पिटलको फिजियोथेरापी विभागलाई हाल मुख्य भवनको हाडजोर्नी (अर्थाेपेडिक) विभाग नजिकै स्थानान्तरण गरी सेवा विस्तार गरिएको हो ।
विभागको स्तरोन्नतिसँगै अब दैनिक १ सय जनाभन्दा बढी बिरामीलाई गुणस्तरीय सेवा दिन सक्ने क्षमता विकास भएको हस्पिटलले जनाएको छ । हाडजोर्नी विभाग नजिकै फिजियोथेरापी केन्द्र रहेकाले शल्यक्रिया गरेका र हाडजोर्नीको समस्या भएका बिरामीहरूलाई उपचारका लागि थप सहज भएको छ ।
विभागमा अर्थाे तथा स्पोर्ट्स, न्युरोलोजी, कार्डियो, बालबालिका तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूको टोलीले प्रत्यक्ष निगरानीमा उपचार गर्दछन् । यहाँ पक्षघात, हेड इन्जुरी, मेरुदण्ड भाँचिने समस्या र पार्किन्सन्सको उपचार, अटिजम र सेरेब्रल पाल्सी भएका बालबालिकाका लागि विशेष थेरापी, गर्भवती महिलाका लागि प्रि–नेटल (अघि) र पोस्ट–नेटल (पछि) थेरापी, स्पोर्ट्स रिह्याबिलिटेसन, क्यान्सरका बिरामीका लागि अन्कोलोजी थेरापी र शल्यक्रिया अघि पछिको विशेष रिह्याबिलिटेसन जस्तो सेवा उपलब्ध रहेको छ ।
विराटले फिजियोथेरापीका लागि विश्व स्तरीय उपकरणहरू प्रयोगमा ल्याएको छ । हस्पिटलले बिरामीको आर्थिक सहजतालाई ध्यानमा राख्दै स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोष तथा भूपू आर्मी सेवामार्फत पनि फिजियोथेरापी उपचार गर्न सकिने व्यवस्था मिलाएको छ । दीर्घकालीन बिरामीहरूका लागि विशेष प्याकेज, छुट्टै बिलिङ काउन्टर र फिजियोथेरापी ‘डे–केयर’ सेवा समेत सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ ।
यस विस्तारसँगै कोशी प्रदेशका बिरामीहरूले फिजियोथेरापी र पुनर्स्थापनाका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास अस्पताल प्रशासनले लिएको छ ।

























