
काठमाडौं । बीमा क्षेत्रसँग जोडिएको चर्चित अनियमितता प्रकरणमा व्यवसायी दीपक भट्टसहित ४२ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार बिमासम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको हो । मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझा र मदन दाहाल, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलगायत विभिन्न बीमा, पुनर्बीमा, लगानी बैंकिङ तथा पुँजी बजारसँग सम्बन्धित संस्थाका पदाधिकारीहरू प्रतिवादी बनाइएका छन् ।
अभियोगमा हिमालयन रिइन्स्योरेन्स, हिमालय सेक्युरिटिज बैंकर, हिमालय इन्भेस्टमेन्ट बैंकर, हिमालयन क्यापसर्भ, भृकुटी स्टक ब्रोकिङ कम्पनी तथा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्ससँग आबद्ध उच्च अधिकारी र सञ्चालकहरू समेत समेटिएका छन् । सीआईबीका अनुसार अनुसन्धानका क्रममा दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा पक्राउ परेका थिए ।
अन्य प्रतिवादीलाई भने पक्राउ नगरी नै मुद्दा दर्ता गरिएको हो । बीमा क्षेत्रको बहुचर्चित मानिएको यो प्रकरणले नियामक निकाय, बीमा कम्पनी, पुनर्बीमा संस्था, लगानी बैंकिङ तथा सेयर बजारसँग सम्बन्धित प्रभावशाली व्यक्तिहरूलाई एकैपटक कानुनी प्रक्रियामा तानेको छ ।

























