
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा एक व्यक्तिको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत फागुन ६ गते काठमाडौं महानगरपालिका–८ स्थित १५ नं. शिवालयमा संखुवासभा घर भएका सन्तोष गिरी (सन्तोष परियार) मृत फेला परेका थिए । सो घटनाको प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको खुलेको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका दर्बेनाथ भनिने सुविन राना मगरलाई प्रहरीले महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरेको जनाएको छ ।
घटनापछि फरार रहेका राना मगरलाई खोजतलास गर्ने क्रममा महोत्तरीमा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरीका अनुसार हत्याको कारण र घटनाका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ ।

























