असममा सेनाको विमान दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार ०७:३२

एजेन्सी । भारतको असम राज्यस्थित जोरहाट वायुसेना केन्द्रमा शनिबार भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान दुर्घटनाग्रस्त हुँदा पाँचजना सैनिकको मृत्यु भएको छ । अवतरणका क्रममा विमान दुर्घटनामा परेको र त्यसपछि भीषण आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय वायुसेनाले दुर्घटनाको पुष्टि गर्दै घटनाको वास्तविक कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रारम्भिक विवरणअनुसार विमान रन–वेमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाएर दुर्घटनामा परेको थियो । दुर्घटनापछि घटनास्थलमा तत्काल उद्धार तथा आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Advertisement

दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत तथा अग्निवीरवायु दानिस आलमको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै वायुसेनाले मृतक सैनिकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, दुर्घटनाको कारणका बारेमा विस्तृत अध्ययन गर्न उच्चस्तरीय छानबिन टोली गठन गरिएको छ ।

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार दुर्घटनाको ठोस कारण अझै खुल्न सकेको छैन । प्राविधिक समस्या, मौसमीय अवस्था वा अन्य कुनै कारण हो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा परेको एएन–३२ विमान भारतीय वायुसेनाले दशकौँदेखि प्रयोग गर्दै आएको प्रमुख परिवहन विमानमध्ये एक हो । दुई इन्जिनयुक्त टर्बोप्रप प्रणालीमा आधारित विमान सैनिकको रासन, जनशक्ति तथा सामग्री ढुवानीका लागि विशेष रूपमा प्रयोग गरिन्छ ।

सोभियत संघमा निर्माण गरिएको एएन–३२ विमानलाई कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसममा समेत प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने गरी डिजाइन गरिएको थियो । हिमाली तथा दुर्गम क्षेत्रमा उडान भर्न सक्षम मानिने विमान उच्च तापक्रम र अत्यधिक उचाइमा रहेका एयरफिल्डहरूमा समेत सहज रूपमा सञ्चालन गर्न सक्ने विशेषता बोकेको छ ।

भारतीय वायुसेनासँग हाल करिब एक सयवटा एएन–३२ विमान सेवा सञ्चालनमा रहेको बताइन्छ । एउटा विमानले एकपटकमा करिब ७ दशमलव ५ टनसम्म सामग्री, ५० जना यात्रु वा ४२ जना प्याराट्रुपर बोक्न सक्ने क्षमता राख्छ । विशेषगरी दुर्गम क्षेत्रमा सैनिक तथा अत्यावश्यक सामग्री पुर्‍याउन यस विमानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

ताजा दुर्घटनाले भारतीय वायुसेनाको परिवहन उडान सुरक्षामाथि पुनः प्रश्न उठाएको छ । दुर्घटनाको विस्तृत प्रतिवेदन सार्वजनिक भएपछि यसको वास्तविक कारण थाहा हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.