
विराटनगर । विराटनगरस्थित एक होटलमा बसेका भारतीय युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ । घटनासँग सम्बन्धित चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
मृतक भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स यादव रहेको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । यादव भारतमा भएको एउटा घटनाका फरार प्रतिवादी रहेको पाइएको छ । उनी भारतीय प्रहरीको खोजी सूचीमा रहेका थिए ।
यादव विराटनगर महानगरपालिका–१० मा रहेको शुभ होटलमा बस्दै आएका थिए । होटलमा बसिरहेका बेला शनिबार राति ११ बजेतिर उनी बिरामी परेका थिए । तत्काल उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
प्रिन्स यादव बिहारका शिक्षा व्यवसायी तथा ‘ज्ञान बिन्दु एकेडेमी’का सञ्चालक रोशन आनन्दका भाइ हुन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पटना केन्द्रित ‘खान सर’सँग जोडिएको विवाद तथा खान ग्लोबल स्टडीजमा भएको आक्रमण र तोडफोड प्रकरणमा उनीविरुद्ध एफआईआर दर्ता गरिएको थियो । त्यसपछि उनी फरार भएका थिए ।
यद्यपि, उक्त मुद्दाका बारेमा भारतीय अधिकारीहरूबाट औपचारिक विवरण सार्वजनिक हुन बाँकी छ । प्रहरी स्रोतका अनुसार यादव केही दिनअघि नेपाल आएका थिए । उनको मृत्यु भएपछि घटनाले थप चासो र चर्चा पाएको छ ।
घटनापछि प्रहरीले मृतकसँगै रहेका भारत बिहारको सहरसाका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरू मृतकसँगै होटलमा बसिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतकको कन्चटमा सानो चोटजस्तो पनि देखिएको छ । मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण स्पष्ट हुने डीएसपी श्रेष्ठले बताए ।
प्रारम्भिक चरणमा मृत्युको कारण खुल्न नसकेकाले प्रहरीले आत्महत्या, प्राकृतिक मृत्यु, लागुऔषधको अत्यधिक सेवन वा अन्य कुनै आपराधिक गतिविधिसँग सम्बन्धित घटना हुन सक्ने सम्भावनासहित विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ । नशालु पदार्थको ओभरडोजका कारण मृत्यु भएको हुनसक्ने आशंका पनि अनुसन्धानको दायरामा रहेको प्रहरी स्रोतले बतायो ।
प्रहरी स्रोतका अनुसार प्रिन्स यादव यसअघि पनि विराटनगर आउने–जाने गरेको देखिएको छ । घटनाका बारेमा प्रिन्सको परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । नेपाल र भारत दुवैतर्फ चासोका साथ हेरिएको यस घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्ट तथा प्रहरी अनुसन्धानको अन्तिम निष्कर्षपछि मात्रै खुल्ने बताइएको छ ।

























