झापामा घर पुर्‍याइदिन्छु भन्दै सुनको मुन्द्रा लुट्ने युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार ०७:१५

झापा । झापाको कनकाई नगरपालिकामा एक जना महिलाको सुनको मुन्द्रा लुटेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार जेठ ३० गते साँझ करिब ७ः४५ बजेतिर पाँचथरको फिदिम नगरपालिका–४ घर भई हाल कनकाई नगरपालिका–४ कोटीहोम बस्दै आएका २२ वर्षीय जीवन तामाङले कनकाई नगरपालिका–३ टप्पुचोककी ५० वर्षीया विमला लिम्बू भुजेललाई घर पुर्‍याइदिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएका थिए । घरतर्फ लैजाने क्रममा कनकाई–१ र २ को सिमानामा रहेको बाघे खोलाको पुलनजिक पुगेपछि तामाङले महिलाको कानमा लगाएको सुनको मुन्द्रा खोलेको सूचना प्रहरीले प्राप्त गर्यो ।

Advertisement

प्रहरी घटनास्थलमा पुग्दा तामाङ घाइते अवस्थामा भेटिएका थिए । स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेका कारण तामाङ घाइते भएका पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरेर कनकाई नगर अस्पताल सुरुङ्गा पुर्यायो ।

प्रहरीले तामाङको साथबाट सुनको मुन्द्रा दुई थान, ओपो कम्पनीको मोबाइल एक थान, नगद तीन हजार रुपैयाँ तथा मे ४ प ८८३ नम्बरको मोटरसाइकल बरामद गरेको छ । पीडित महिलालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घाइते तामाङलाई थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र उपचारपछि उनलाई इलाका प्रहरी कार्यालय अनारमनी ल्याएर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.