
बराहक्षेत्र । मदन भण्डारी लोकमार्गअन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकमा दुर्घटनाग्रस्त भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडीभित्र एक क्विन्टलभन्दा बढी गाँजा फेला परेको छ ।
दुर्घटनामा परेको गाडी र गाँजा नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहानका राति १ः५५ बजेतिर चतराबाट नडाहातर्फ आउँदै गरेको भारतमा दर्ता भएको बीआर ३१ पी ६६५१ नम्बरको स्कोरपिओ दुर्घटनामा परेको सूचना प्राप्त भएको थियो ।
त्यसलगत्तै अस्थायी प्रहरी चौकी नडाहाबाट घटनास्थल पुगेको टोलीले गाडीभित्र पछाडिको भागमा लुकाइछिपाइ प्लास्टिकका चारवटा बोरामा ‘प्याक’ गरेर राखिएको गाँजा फेला पारेको थियो । गाडीलाई नियन्त्रणमा लिएर तौल गर्दा गाँजा १ सय ४ किलो भएको डीएसपी खड्काले बताए । दुर्घटनामा परेको गाडीको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।
बरामद परिमाण हेर्दा यो व्यक्तिगत प्रयोगका लागि नभई व्यवस्थित तस्करी वा ओसारपसारको उद्देश्यले ढुवानी गरिएको देखिने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार विशेषगरी भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग गरेर गाँजाको ओसारपसार हुने गरेको पाइएको छ ।
दुर्घटनापछि गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी एवं पहिचानका लागि प्रहरी परिचालन गरिएको छ । बरामद गाँजा र स्कोरपिओ गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ ।
यसमा विषयमा इन्स्पेक्टर दिवस कुँवर नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ । प्रहरीले गाँजाको स्रोत, गन्तव्य, यसमा संलग्न व्यक्ति तथा सम्भावित तस्करी सञ्जालका बारेमा थप अनुसन्धान अघि बढाएको डीएसपी खड्काले बताए ।



















