कारागारभित्र दुई कैदीको हत्या गर्ने सात प्रहरीसहित १५ जनालाई जन्मकैद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १३:३८
संखुवासभा जिल्ला कारागार खाँदबारी ।

संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदबारीभित्र दुई जना कैदीको हत्या गरिएको घटनामा संलग्न १५ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जन्मकैदको फैसला सुनाइएकामा ७ जना प्रहरी र ८ जना कैदीबन्दी रहेका छन् ।

जिल्ला अदालत संखुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले उक्त घटनामा संलग्न ठहरिएका प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१०) अनुसार जन्मकैदको फैसला गरेको हो । अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार दोषी ठहरिएकाबाट मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला पनि भएको छ ।

Advertisement

घटना २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा भएको थियो । संखुवासभाकै मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी कारागारभित्र कुटपिटको सिकार भएका थिए । प्रहरी र अन्य कैदीबन्दैले पालैपालो कुटपिट गर्दा दुवै जनाको मृत्यु भएको थियो ।

अनुसन्धानका क्रममा उनीहरूले शौचालयको झ्यालको रड काटेर भाग्ने प्रयास गरेको आशंकामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र त्यसपछि प्रहरी तथा अन्य कैदीबन्दीबाट सामूहिक रूपमा कुटपिट भएको खुलेको थियो । सोही कुटपिटका कारण दुवैको मृत्यु भएको निष्कर्ष अनुसन्धानबाट निकालिएको हो ।

घटनापछि पक्राउ परेका सुरक्षाकर्मी र कैदीबन्दीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । अभियोग लागेका प्रहरी कर्मचारीलाई धनकुटा कारागार तथा संलग्न कैदीबन्दीलाई तेह्रथुम कारागारमा राखेर मुद्दाको प्रक्रिया अघि बढाइएको थियो ।

अदालतले घटना भएका बेला कारागार सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्ज असइ (सहायक निरीक्षक) मोरङको कटहरी गाउँपालिका–१ महेशपुर घर भएका लक्ष्मी चौधरी, प्रहरी हवल्दार खोटाङको खोटेहाङ गाउँपालिका–८ का राजकुमार श्रेष्ठ, प्रहरी जवानहरू इलामको इलाम नगरपालिका–११ का सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका–१४ का दमनसिंह राई, सुनसरीको कोशी गाउँपालिका–५ का पवनकुमार महतो, उदयपुरको लिम्चुबुङ गाउँपालिका–४ का नसुन राई र खोटाङको जन्तेढुंगा गाउँपालिका–३ का मनिष राईलाई जन्मकैदको सजाय सुनाएको छ ।

त्यस्तै, कारागारका तत्कालीन चौकीदार संखुवासभाको खाँदबारी नगरपालिका–२ चेवाका रामबहादुर कार्की भनिने राम कार्की, बडानाइके खाँदबारी–९ गैरीगाउँका अनिष शर्मा कट्टेल तथा सहनाइकेहरू भोजपुरको भोजपुर नगरपालिका–१० भैंसीपंखाका सचिन्द्र भनिने सचिन राई, संखुवासभाको मकालु गाउँपालिका–५ खोलाखानीका विक्रम भनिने सुमन सारुमगर, चैनपुर नगरपालिका–३ का टीकाराम भनिने टीकाराज चौहान, चिचिला गाउँपालिका–४ खारमेली गाउँका नवीनकुमार राई र कैदीहरू खाँदबारी नगरपालिका–६ तल्लोपांठाका इन्द्रध्वज घिमिरे एवं मादी नगरपालिका–५ बेतिनीका मीन भनिने मीनबहादुर तामाङलाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।

कारागारभित्र भएको सामूहिक कुटपिटबाट दुई कैदीको मृत्यु भएपछि राष्ट्रिय स्तरमै चर्चा भएको उक्त घटनामा अदालतको फैसलासँगै करिब तीन वर्षपछि न्यायिक निष्कर्षमा पुगेको छ । अदालतले दोषी ठहर भएका सबै प्रतिवादीलाई जन्मकैद सजाय सुनाउँदै मृतकका नजिकका हकदारलाई क्षतिपूर्ति दिलाउने आदेशसमेत गरेको हो ।

यति दर्दनाक र अमानवीय घटनामा संखुवासभाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, तत्कालीन प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारलगायतका अधिकारीले प्रहरीको संलग्नता लुकाउन खोजेका थिए । वास्तविकता र तथ्य लुकाउँदै उनीहरूले कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा घटना भएको सार्वजनिक गरे ।

प्रशासन र प्रहरीको भूमिकाप्रति तीव्र विरोध र आलोचना हुन थालेसँगै उनीहरूले घटनाको वास्तविकतालाई ‘गुपचुप’ पार्न सकेनन् । अन्ततः घटनामा संलग्नहरुलाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

तपाइको प्रतिक्रिया
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगर प्रदेशसभा भवन परिसरको पिपलको रुख ढल्यो, केहीबेर सडक अवरुद्ध (फोटो फिचर)
महानिर्देशकसहित चार जना अनुसन्धानको घेरामा
कारागारभित्र दुई कैदीको हत्या गर्ने सात प्रहरीसहित १५ जनालाई जन्मकैद
बहुअपांगता बालकलाई आर्थिक सहयोग
कोशी लोकमार्गमा एकाबिहानै दुर्घटना, एक जनाको मृत्यु
चेक अनादार प्रकरणमा पक्राउ परेका सेफ सन्तोष साह रकम बुझाएपछि छुटे
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
न्युजिल्यान्डले अग्रता जोगाउन नसक्दा इरानसँग बराबरी
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह 
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.