
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले आफ्नो ५३ औँ स्थापना दिवसको अवसरमा साताव्यापी विविध कार्यक्रमहरू आयोजना गर्ने भएको छ । संघले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि १० गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमको कार्य तालिका सार्वजनिक गरेको हो ।
औषधि व्यवसायको प्रवर्द्धन, व्यावसायिक अनुशासन कायम गर्ने र सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले स्थापना दिवसलाई विशेष रूपमा मनाउन लागिएको संघका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको तालिका अनुसार कार्यक्रमको पहिलो दिन बिहीबार कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा बिरामी बालबालिकाहरूलाई फलफूल वितरण गरिने छ । दोस्रो दिन शुक्रबार विराटनगर–१६ स्थित मिल्स माविमा विद्यार्थीहरूलाई लागुऔषध र मनोद्विपक औषधि सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
त्यसैगरी, तेस्रो दिन शनिबार जिल्ला ट्राफिक कार्यालय मोरङलाई लागूपदार्थ परीक्षण किट तथा ट्राफिक सचेतनामूलक बोर्डहरू हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । चौथो दिन आइतबार बेलबारी नगरपालिकामा औषधि व्यवसायीहरूका लागि औषधिको समुचित प्रयोग, वैज्ञानिक भण्डारण र बिक्री वितरण सम्बन्धी एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरिने अध्यक्ष ढकालले बताए ।
सप्ताहव्यापी कार्यक्रमको पाँचौँ दिन सोमबार विराटनगर–५ स्थित मानव सेवा आश्रममा आश्रितहरूलाई भोजन र स्वास्थ्य सामग्री प्रदान गरिने छ भने छैटौँ दिन मंगलबार विराटनगरको हस्पिटल चोकमा खुला रक्तदान कार्यक्रम आयोजना गरिने छ । समापनको अन्तिम दिन बुधबार बिहान प्रभातफेरी निकालिने र औपचारिक कार्यक्रमका साथ सप्ताहको समापन गरिने संघले जनाएको छ ।
अध्यक्ष ढकालले यो अभियानमार्फत औषधि व्यवसायी क्षेत्रको सामाजिक छवि थप मजबुत बनाउने र समाजप्रति उत्तरदायी हुने लक्ष्य राखिएको बताए । उनले यी कार्यक्रमहरू सफल पार्न सम्पूर्ण औषधि व्यवसायी, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय र सर्वसाधारणमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

























