फाइल फाेटाेविराटनगर । झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र.१-०२-००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटर चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए । उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
स्कुटरको पछाडि सवार गौरीगञ्ज गाउँपालिका–१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टिपर चालक फरार भएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा दिउँसो करिब १२ः३० बजे गौरादह नगरपालिका–९ बैगुनधुरा निवासी २९ वर्षीय चालक दिपक प्रधानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।



















