
इटहरी । इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरूको प्रतिभा, सीप र सिर्जनशीलता उजागर गर्ने उद्देश्यले आयोजित ‘उत्सव २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए ।
प्रदर्शनीमा विद्यालयका विज्ञान, व्यवस्थापन, शिक्षा, होटेल म्यानेजमेन्ट र सिभिल इन्जिनियरिङका विद्यार्थीसहित कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्ना विषयगत तथा व्यवहारिक प्रतिभा प्रदर्शन गरेका थिए ।
कुल २८ वटा स्टलहरूमा शैक्षिक, वैज्ञानिक, साहित्यिक, प्राविधिक तथा उद्यमशीलतासँग सम्बन्धित सामग्रीहरू राखिएको थियो ।
विशेष गरी ‘शिक्षाको संसारबाट कामको संसार’ परियोजनाअन्तर्गत विद्यार्थीहरूले सञ्चालन गरेका १० वटा आयमूलक स्टलहरू आकर्षणको केन्द्र बनेका थिए । इन्स्योर र हेल्भेटास परियोजनाको आर्थिक सहयोगमा प्रति समूह ५ हजार रुपैयाँ बीउ पुँजी पाएका विद्यार्थीहरूमध्ये लस्सी बिक्री गर्ने समूहले पहिलो दिनमै १४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिए । यस्तै ‘कमाउँदै पढ्दै’ परियोजना अन्तर्गत विद्यार्थीहरूले उत्पादन गरेका कपीहरू पनि बिक्रीका लागि राखिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर हेमकर्ण पौडेलले विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षाको नमुना प्रस्तुत गरेको भन्दै प्रशंसा गरे । उनले होटेल म्यानेजमेन्टको ल्याब सञ्चालनका लागि २५ लाख रुपैयाँ र एक जना अनुदान शिक्षक उपलब्ध गराउने घोषणा समेत गरे ।
सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी र कार्यक्रम संयोजक युवराज काफ्लेले यस्ता कार्यक्रमले विद्यार्थीमा रहेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न र उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताए । प्रदर्शनी अवलोकनका लागि स्थानीय बासिन्दा, अभिभावक र विभिन्न विद्यालयका विद्यार्थीहरूको ठुलो उपस्थिति रहेको थियो ।
उत्सवका अवसरमा स्काउट दिवस पारेर विद्यालयको स्काउट दलले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कैलाश कार्कीको अध्यक्षतामा प्रदर्शनी र रक्तदान कार्यक्रम भएको थियो ।

























