
अमेरिका । फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वेले नवप्रवेशी टोली केप भर्डेविरुद्ध जित निकाल्न नसक्दा अंक बाँड्न बाध्य भएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सम्पन्न समूह ‘एच’ अन्तर्गतको खेल २–२ को बराबरीमा टुंगिएको हो ।
विश्व फुटबलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले लगातार दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वीलाई रोक्दै आफ्नो प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गरेको छ । यसअघि उसले स्पेनसँग पनि बराबरी खेलेको थियो ।
खेलको २१औं मिनेटमा केभिन पिनाले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो । ४४औं मिनेटमा म्याक्सी अराजोले बराबरी गोल गरे । पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए ।
तर, मध्यान्तरपछि उरुग्वेले आफ्नो अग्रता कायम राख्न सकेन । ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरबीच तालमेल नमिल्दा त्यसको फाइदा उठाउँदै हेलियो भारेलाले गोल गरेर केप भर्डेलाई पुनः खेलमा फर्काए ।
त्यसपछि दुवै टोलीले थप अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन् । खेल २–२ को बराबरीमा सकियो । बल नियन्त्रणमा उरुग्वे स्पष्ट रूपमा हाबी रह्यो । उसले केप भर्डेको तुलनामा झण्डै दोब्बर समय बल आफ्नो नियन्त्रणमा राख्नुका साथै बढी प्रहार पनि गर्यो । तर, सिर्जना भएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा जित हात पार्न असफल रह्यो ।
यो नतिजापछि समूह ‘एच’मा उरुग्वे र केप भर्डेको समान दुई खेलबाट दुई–दुई अंक पुगेको छ । दुई खेलबाट चार अंक बटुलेको स्पेन शीर्ष स्थानमा रहेको छ भने साउदी अरेबियाको खातामा एक अंक छ । केप भर्डेले लगातार दुई खेलमा बलिया टोलीलाई अंक बाँड्न बाध्य बनाएपछि समूहको प्रतिस्पर्धा थप रोचक बनेको छ ।



















