अभिषेक गिरीको असुली साम्राज्य : कैदीको श्रमदेखि सरकारी भत्तासम्म

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ असार १७, बुधबार १३:००

विराटनगर । मोरङ कारागारभित्र कैदीबन्दीले उत्पादन गर्ने मुढा र गलैँचाको बिक्रीबाट आउने लाखौँ रुपैयाँ आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीको बैंक खातामा जम्मा हुने गरेको पत्ता लागेको छ ।

असुलीको भिन्दै साम्राज्य खडा गरी कैदीबन्दीको श्रमको कमाइदेखि उनीहरुलाई राज्यले उपलब्ध गराउने भत्ता र दैनिक सिधाबापतको चमल एवं नगदसमेत गिरीले कब्जा गरिरहेको गम्भीर घटना सार्वजनिक भएको हो । समानान्तर आर्थिक संरचना सञ्चालन गर्ने सञ्जाल नै तयार पारेर गिरीले आतंक मच्चाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद सजाय भुक्तान गरेर २०७९ चैत ५ गते जेलमुक्त भएका गिरीको आतंकले सीमा नाघ्दा कारागारभित्रका कैदीबन्दी भने संकटमा परिरहेका छन् । मोरङ प्रहरीले गिरीमाथि अहिले विभिन्न कोणबाट व्यापक अनुसन्धान गरिरहेको छ । आपराधिक विश्वासघातको कसुरमा अदालतबाट म्याद थप गरेको प्रहरीले अनुसन्धानलाई कैदीबन्दीको सरकारी भत्ता असुली, बैंक कारोबार, कारागारभित्र उत्पादन हुने सामग्रीको बिक्री, सरकारी सुविधा वितरण, व्यापारीसँगको आर्थिक सम्बन्ध, कारागारकै कर्मचारीको सम्भावित संलग्नता, बाह्य प्रभाव, सम्पत्ति विस्तार, सामाजिक संस्थामार्फत भएका गतिविधि तथा सम्भावित सम्पत्ति शुद्धीकरणसम्म विस्तार गरेको छ ।

असार १२ गते कारागारको ‘बी’ ब्लकमा रहेका ५ सय ४४ जना कैदीबन्दीलाई जनही दुई हजार पाँच सय रुपैयाँका दरले वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँको सरकारी भत्ता कब्जा गरेको पाइएपछि गिरीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रकम वितरण भएको केही घण्टामै उनीनिकटका व्यक्तिहरू, कारागारभित्रका केही नाइके तथा सहयोगीमार्फत उक्त रकम पुनः संकलन गरेर बाहिर पठाउँदै गिरीलाई उपलब्ध गराइएको पत्ता लागेको छ ।

यही सूचनाका आधारमा प्रहरीले असार १३ गते विराटनगर महानगरपालिका–८ मधुमारास्थित निवासबाट गिरीलाई पक्राउ गरेको हो । घरमा खानतलासी गरेर प्रहरीले पैसा गन्ने मेसिनसमेत बरामद गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बैंक विवरण, डिजिटल प्रमाण, सीसीटीभी फुटेज, बरामद सामग्री तथा सम्बन्धित व्यक्तिको बयानको विश्लेषण भइरहेको छ ।

अनुसन्धानको अर्को महत्वपूर्ण पाटो कैदीबन्दीको श्रमसँग जोडिएको छ । मोरङ कारागारमा दैनिक करिब १ हजार २ सय हाराहारीमा कैदीबन्दी हुने गरेका छन् । तीमध्ये झन्डै ५ सय जना मुढा बुनाउने र करिब १ सय जना गलैँचा उत्पादन गर्ने कार्यमा संलग्न छन् । कैदीबन्दीलाई सुधार, सिप विकास र पुनःस्थापनाको उद्देश्यले सञ्चालन गरिने कार्यक्रमबाट उत्पादन भएका सामग्री नियमित रूपमा काठमाडौं र चितवन पठाउने गरिन्छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ती सामग्रीको बिक्रीबाट प्राप्त हुने रकम कारागार प्रशासन वा उत्पादन गर्ने कैदीबन्दीको पहुँचमा नपुगी गिरीको व्यक्तिगत बैंक खातामा जम्मा हुने गरेको पत्ता लागेको छ । बैंक विवरण अध्ययनका क्रममा चितवनका व्यापारीबाट लाखौँ रुपैयाँ गिरीको खातामा जम्मा भएको देखिने डीएसपी मिश्रले बताए । ‘कैदीबन्दी मुढा बनाएर बेच्दा रहेछन् । मुढा बेचेको मासिक ७ लाख रूपैयाँसम्म व्यापारीले गिरीको खातामा जम्मा गरिदिने गरेको पाइयो । कैदीबन्दीले भने श्रमको मूल्य पनि नपाउने गरेको पत्ता लाग्यो,’ उनले भने ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार चितवनका व्यापारी डिल्लीराम पन्तले अनुसन्धानका क्रममा मुढा खरिदबापतको रकम गिरीको खातामा जम्मा गर्ने गरेको पत्ता लागेको छ । पन्तले यो कुरा स्वीकार गर्दै प्रहरीमा कागज नै गरिदिएका छन् । प्रहरीले प्राप्त गरेको प्रमाणले पनि त्यसको पुष्टि हुन्छ । मुढा ढुवानीको व्यवस्थापन विजय कामतमार्फत हुने गरेको र प्रत्येक महिना एक ट्रकभन्दा बढी मुढा उत्पादन भएर बाहिर जाने गरेको अनुसन्धानबाट देखिएको छ । ‘एक ट्रक मुढा लैजाँदा व्यापारीले ५ देखि ७ लाख रूपैयाँसम्म गिरीको खातामा जम्मा गरिदिने गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीले अहिले बैंक कारोबारसँग व्यापारीको बयान मिलाएर वास्तविक आर्थिक शृङ्खला पुष्टि गर्ने प्रयास गरिरहेको छ । गिरीको असुली मुढा र गलैँचाको कारोबारमा मात्रै सीमित छैन । कैदीबन्दीले दैनिक सिधाबापत पाउने ७ सय ग्राम चामल र ८० रुपैयाँ नगद सुविधामाथि समेत हस्तक्षेप गर्ने गरेको पाइएपछि विस्तृत अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरिएको चामल पूर्ण रूपमा कैदीबन्दीलाई वितरण नगरी ठूलो परिमाण बाहिर बिक्री गरिएको खुलेको छ ।

प्रहरीलाई एक जना कर्मचारीले दिएको प्रारम्भिक बयान अनुसार महिनामा करिब ६० बोराभन्दा बढी चामल गिरीले कब्जा गर्ने गरेका छन् । ‘एक जना कर्मचारीले ६० बोराको कुरा गरेका छन् । तर, कारागारबाट त्योभन्दा बढी चामल बाहिरिने गरेको आशंका छ । त्यसको पनि आर्थिक हिसाबकिताब खोज्ने काम भइरहेको छ,’ स्रोतले भन्यो ।

कतिपय कैदीबन्दीले आफूहरूले दिनरात मिहिनेत गरेर उत्पादन गरेको सामानको उचित पारिश्रमिक नपाएको, उल्टै विभिन्न बहानामा रकम असुली गरिएको, परिवारसँग सम्पर्क गरेर बाहिरबाट पैसा मगाउन दबाब दिइएको तथा रकम नदिँदा मानसिक र शारीरिक यातना दिने गरिएको गुनासोसमेत गरिरहेका छन् । आरोपहरूको पुष्टि गर्न पूर्वकैदी, वर्तमान कैदी तथा कारागार कर्मचारीसँग छुट्टाछुट्टै बयान लिने काम भइरहेको प्रहरीको भनाइ छ ।

अनुसन्धानसँगै कारागार प्रशासनको भूमिकामाथि पनि प्रश्न उठेको छ । केही कर्मचारीले बयानका क्रममा गिरीले धम्की र दबाब दिएर तथा प्रभावमा पारेर आफूहरूलाई विभिन्न काममा लगाउने गरेको बताएका छन् । कारागारभित्रकै कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गिरीले आर्थिक कारोबार र रकम व्यवस्थापन गरिरहेको स्रोतको भनाइ छ ।

प्रहरीका अनुसार रकम संकलन गरेर बाहिर पुर्याउने सञ्जालमा तरकारी आपूर्तिकर्ता विजय कामत, गिरीका सहयोगी दीपक कार्की तथा अन्य केही व्यक्तिको भूमिका देखिएको छ । कारागारभित्र रहेका नाइकेहरुको भूमिका पनि शंकास्पद छ । उनीहरुले कैदीबन्दीलाई यातना दिएर असुली गर्दै गिरीलाई रकम बुझाउने गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

प्रहरीले केहीलाई सोधपुछपछि रिहा गरे पनि केही व्यक्तिमाथि अनुसन्धान जारी छ । गिरी पक्राउ परेपछि कारागारभित्रकै कैदीबन्दी आन्दोलनमा उत्रिएका थिए । उनीहरूले आफ्नो श्रमको कमाइ वर्षौंदेखि आफूहरूले नपाएको, सरकारी सुविधा खोसिएको तथा शारीरिक यातनालगायत विभिन्न प्रकारको अन्याय भोग्नु परेको भन्दै गिरीमाथि कडा कारबाहीको माग गरेका छन् ।

केही पीडित र सूचनादाताहरु प्रहरीको सम्पर्कमा समेत पुगेका छन् । प्रहरीले गिरीको आतंकसँग सम्बन्धित कुनै सूचना भएमा उपलब्ध गराउन सार्वजनिक रूपमा आह्वान गरेको छ । ‘गिरीबाट विराटनगरका धेरै जना पीडित भएका रहेछन् । आफ्ना मान्छे पठाएर व्यापारी र धनाड्यहरुलाई धम्क्याएर असुली गर्ने गरेको पाइयो । सबै पीडितलाई प्रहरीको सम्पर्कमा आउन आह्वान गरिएको छ,’ डीएसपी मिश्रले भने ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अनुसन्धान अहिले धेरै तहमा विस्तार भइसकेको बताए । गिरी, उनका परिवार, आफन्त तथा सहयोगीहरूको नाममा रहेका बैंक खाता, घरजग्गा, उद्योग–व्यवसाय, सवारीसाधन, बीमा, सहकारी, सेयर लगानी तथा अन्य चलअचल सम्पत्तिको विवरण संकलन भइरहेको जानकारी उनले दिए ।

बैंक तथा वित्तीय संस्था, कम्पनी रजिस्ट्रार कार्यालय, मालपोत, नेपाल स्टक एक्सचेन्ज, घरेलु तथा साना उद्योग कार्यालय, सहकारी नियमन निकाय तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग आवश्यक विवरण माग गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको अर्को केन्द्र गिरी फाउन्डेसन पनि बनेको छ । जेलमुक्त भएपछि सामाजिक संस्था सञ्चालनको नाममा राहत वितरण र सामाजिक गतिविधिमा सक्रिय देखिएका गिरीसँग सम्बन्धित आर्थिक स्रोत, खर्च र कारोबारसमेत अहिले अनुसन्धानको दायरामा परेको एसपी कटवालले बताए ।

गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई ९ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । कारागारमा चौकीदारको रुपमा रहँदा कैदीबन्दीलाई यातना दिएर परिवारबाट रकम असुली गर्ने गरेको आरोप गिरीमाथि लाग्ने गरेको थियो । गिरीको अस्वाभाविक सम्पत्तिले पनि उनको असुली आतंकलाई प्रष्ट पार्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

२०६५ सालको एउटा कर्तव्य ज्यान मुद्दामा भने उनले अदालतबाट सफाइ पाएका थिए । आर्थिक वर्ष २०६९–७० तिर उनीमाथि भएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको फाइलसमेत प्रहरीले पुनः अध्ययन गरिरहेको छ । गिरीले लामो समयदेखि राजनीतिक संरक्षणमा आतंक मच्चाइरहेका हुन् । नेपाली कांग्रेसद्वारा संरक्षित ‘गुन्डानाइके’ गिरी लामो समय कारागार बसेर छुटे पनि आपराधिक गतिविधिबाट भने बाहिर निस्किन र टाढा रहन सकेनन् ।

गत फागुन २१ गतेको निर्वाचनमा मोरङको क्षेत्र नम्बर ४ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पार्टीका महामन्त्री गुरुराज घिमिरेको चुनावी अभियानमा युवा परिचालन संयोजकका रूपमा गिरी सक्रिय थिए । घिमिरेको चुनावी अभियानमा गिरीले नै खर्च गरिदिएको चर्चा छ । घिमिरे कांग्रेसभित्र सादगी र वैचारिक नेता भनेर चिनिन्छन् । तर, चुनाव प्रचारमा भने विशेष जिम्मेवारीसहित आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’लाई परिचालन गरेपछि उनको चौतर्फी आलोचना भएको थियो ।

डीएसपी मिश्रका अनुसार अनुसन्धानबाट प्राप्त प्रत्येक आरोपलाई प्रमाणका आधारमा पुष्टि गर्ने काम भइरहेको छ । पीडित, व्यापारी तथा सर्वसाधारणलाई थप सूचना, प्रमाण र जाहेरी उपलब्ध गराउन सार्वजनिक आह्वानसमेत गरिसकिएको उनले बताए ।

उनका अनुसार अनुसन्धानको अन्तिम उद्देश्य सरकारी भत्ता असुलीको घटनाको सत्यतथ्य पत्ता लगाउनु मात्र नभएर कारागारभित्र वर्षौंदेखि सञ्चालन भएको भनिएको आर्थिक सञ्जाल, त्यसमा संलग्न व्यक्ति, सम्भावित संगठित अपराध, आर्थिक अनियमितता तथा त्यसबाट आर्जित सम्पत्तिको स्रोतसम्म पुग्नु हो । अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा संगठित अपराध, आपराधिक विश्वासघात, सम्पत्ति शुद्धीकरणलगायत आकर्षित हुन सक्ने कानुनी व्यवस्थाअन्तर्गत मुद्दा अघि बढाउने वा नबढाउने निर्णय गरिने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोरङ कारागारभित्रको यो प्रकरण अहिले एउटा व्यक्तिमाथिको अनुसन्धानमा मात्र सीमित छैन । ‘यसले कारागार प्रशासनको निगरानी प्रणाली, कैदीबन्दीको श्रमको संरक्षण, सरकारी सुविधाको पारदर्शिता, आर्थिक अनुशासन, राजनीतिक प्रभाव र कानुनी शासनको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ । अन्ततः कुन आरोप पुष्टि हुन्छ वा कुन हुँदैन भन्ने निर्णय प्रमाण, अनुसन्धान र अदालतको प्रक्रियाबाट हुनेछ,’ प्रहरी स्रोतले भन्यो ।

गिरीमाथि वर्षौंदेखि लाग्दै आएका आरोपहरू पहिलो पटक संगठित रूपमा अनुसन्धानको केन्द्रमा पुगेको छ । अनुसन्धानको निष्कर्षले मोरङ कारागारभित्रको प्रशासनिक, आर्थिक र राजनीतिक सम्बन्ध तथा गिरी जोडिएका आपराधिक गतिविधिका धेरै तह उजागर गर्छ,’ प्रहरी स्रोतले भन्यो । हालसम्मको अनुसन्धानबाट गिरीविरुद्ध धेरै प्रमाण संकलन भइसकेको प्रहरीको भनाइ छ ।

आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : कारागारभित्रको ‘साम्राज्य’देखि सम्पत्ति शुद्धीकरणसम्म

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.