
रंगेली । मोरङको रंगेली नगरपालिकाले महिला तथा युवालाई सिपयुक्त, आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यका साथ सञ्चालन गरेको १५ दिने जैविक मल, वनस्पतिक विषादी उत्पादन तथा च्याउ खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ ।
रंगेली नगरपालिकाको आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, सुन्दरहरैँचाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा नगरपालिकाका विभिन्न वडाका ३० जना महिला तथा पुरुषको सहभागिता रहेको थियो ।
असार ४ गतेदेखि १८ गते (बिहीबार)सम्म सञ्चालन भएको तालिममा जैविक मल उत्पादन, वनस्पतिक विषादी तयार गर्ने विधि, व्यावसायिक च्याउ खेती, उत्पादन व्यवस्थापन तथा बजार व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागीहरूलाई स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै कम लागतमा कृषि उद्यम सञ्चालन गर्ने उपायका बारेमा समेत प्रशिक्षण दिइएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि राधिका गौतमले कृषि क्षेत्रमा आधुनिक सिप, प्रविधि र उद्यमशीलताको विकास नै आर्थिक समृद्धिको प्रमुख आधार भएको बताइन् । तालिमबाट हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्दै स्वरोजगार र कृषि उद्यमको विस्तारमा लाग्न सहभागीहरूलाई आग्रह गर्दै उनले विशेषगरी महिलाहरूले कृषि उद्यममार्फत परिवारको आयआर्जन वृद्धि गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरिन् ।
मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी अध्यक्ष कमला न्यौपानेले तालिमले रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने सोचको विकास गराउने बताइन् । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै जैविक उत्पादन तथा व्यावसायिक च्याउ खेतीलाई व्यवसायका रूपमा अघि बढाउन सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो ।
तालिमकी प्रशिक्षक आस्था साहले गुणस्तरीय जैविक मल उत्पादन, वनस्पतिक विषादी निर्माण तथा व्यावसायिक च्याउ खेतीका व्यावहारिक पक्षबारे प्रशिक्षण दिएकी थिइन् । तालिमबाट प्राप्त ज्ञानले आफ्नै गाउँघरमा कृषि व्यवसाय सुरु गर्न आत्मविश्वास बढेको सहभागीहरूले बताएका छन् । उनीहरूले बजारमुखी उत्पादनमार्फत आयआर्जन वृद्धि गर्न सकिने विश्वास पनि व्यक्त गरेका छन् ।
समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । जैविक मल तथा वनस्पतिक विषादी तालिमतर्फ अनिताकुमारी झा तथा च्याउ खेती उत्पादक तालिमतर्फ सोनीकुमारी यादवलगायत सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सविना बास्के, सुजता पोखरेल, आस्था साह, गणेश दाहाल, रिना शर्मा लगायतको उपस्थिति रहेको थियो ।
रंगेली नगरपालिकाले यस्ता सिपमूलक तथा उत्पादनमुखी तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । स्थानीय सरकारको यस्तो पहलले विशेषगरी महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्धन, उद्यमशीलताको विकास तथा दिगो कृषि प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।


























