इजिप्टको ऐतिहासिक छलाङ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार ०६:०१

अमेरिका । अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा इजिप्टले फिफा विश्वकपमा नयाँ इतिहास रच्दै पहिलोपटक अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

रोमाञ्चक बनेको शनिबार बिहानको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले आफ्नो विश्वकप यात्रामा ऐतिहासिक उपलब्धि हासिल गरेको हो । खेलको १३औं मिनेटमै इमाम आशौरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा यही गोल निर्णायकजस्तै देखिए पनि दोस्रो हाफमा अस्ट्रेलियाले खेलमा पुनरागमन गर्‍यो ।

५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत बल क्लियर गर्ने प्रयास गर्दा आफ्नै पोस्टमा गोल हुन पुगेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन सकेन । अतिरिक्त ३० मिनेटको खेलमा पनि कुनै टोलीले निर्णायक गोल निकाल्न नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो ।

पेनाल्टीमा इजिप्टका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे भने अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टन गोल गर्न असफल भए । यही अवसरको पूरा फाइदा उठाउँदै इजिप्टले ४–२ को जित निकाल्दै अन्तिम १६ को टिकट काट्यो ।

चौथोपटक विश्वकप खेलिरहेको इजिप्टका लागि यो उपलब्धि विशेष बनेको छ । यसअघि खेलेका तीनवटै विश्वकप संस्करणमा टोली समूह चरणबाटै बाहिरिएको थियो । यसपटक भने त्यस इतिहासलाई तोड्दै इजिप्ट पहिलोपटक नकआउट चरणमा पुगेको हो ।

ऐतिहासिक छलाङ मापरेको इजिप्टले अब जुलाई ७ मा अमेरिकाको एटलान्टामा हुने अन्तिम १६ को खेलमा साविक विजेता अर्जेन्टिना र केप भर्डेबीच हुने प्रतिस्पर्धाको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि भिड्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.