
खोटाङ । खोटाङको दिप्रुङ–चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियामा खुकुरी प्रहार गरेर ३८ वर्षीय ध्रुव अधिकारीको हत्या गरिएको घटनामा एउटै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ५७ वर्षीय तिलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया छोरी सीता सार्की रहेका छन् । खोटाङ प्रहरीका सूचना अधिकारी एवं इन्स्पेक्टर निराजन बस्नेतका अनुसार तिलकबहादुरलाई घटनालगत्तै पक्राउ गरिएको थियो भने उनकी श्रीमती र छोरीलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।
खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि तिलकबहादुर आफैंले फोन गरेर प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि मृतकका आफन्तले भोटीमाया र सीताविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट मुख्य आरोपित तिलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न जाँदा विवाद उत्पन्न भएको र सोही क्रममा अधिकारीमाथि खुकुरी प्रहार गरिएको पत्ता लागेको छ । मजदुरीको हिसाब माग्न जाँदा गत बिहीबार खुकुरी प्रहार गरिएका अधिकारीको घटनास्थलमै मृत्यु भएको इन्स्पेक्टर बस्नेतले बताए ।
प्रहरीका अनुसार मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको पाइएको छ । सार्कीको घरमा पुगेका बेला भएको विवादले हिंसात्मक रूप लिएको प्रहरीको भनाइ छ । घटनाका आरोपितलाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । परीक्षणपछि अधिकारीको शव आफन्तको जिम्मा लगाइएको जानकारी प्रहरीले दिएको छ ।

























