विराटनगरमा लापसे गर्ने १० चालक पक्राउ, नौ सफारी र एक मोटरसाइकल नियन्त्रणमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार ०६:५६

विराटनगर । विराटनगरमा लागुपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाइरहेका १० जना चालक पक्राउ परेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको विशेष चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मंगलबार अपरान्ह ४ देखि ५ बजेसम्म विराटनगर महानगरपालिका–१६ स्थित हुलास चोकमा चिकित्सकको सहयोग तथा लपसे परीक्षण किट प्रयोग गरी विशेष चेकजाँच सञ्चालन गरेको थियो । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दा सार्वजनिक नम्बर प्लेटका ९ वटा सिटी सफारी र एउटा निजी मोटरसाइकल गरी १० वटा सवारीसाधनका चालकको लापसे रिपोर्ट पोजिटिभ आएको थियो ।

पक्राउ पर्नेमा विराटनगर–१८ का २१ वर्षीय सुभाष यादव रहेका छन् । उनी प्र १–०४–००२ प २२३६ नम्बरको मोटरसाइकलका चालक हुन् । त्यसैगरी विराटनगर–१४ का २४ वर्षीय दिलावर अन्सारी (प्र १–०२–००४ ह २९०२), कटहरी गाउँपालिका–४ का २७ वर्षीय उमेशकुमार ऋषिदेव (प्र १–०१–००२ ह ३२७७), विराटनगर–१२ का २२ वर्षीय मोहम्मद हुसेन (प्र १–०२–००४ ह ७३४०), विराटनगर–१५ का ३१ वर्षीय विशाल साह (प्र १ ह ०९५६), विराटनगर–४ का २२ वर्षीय अभिषेक यादव ( प्र१–०२–००४ ह ०३३५) पक्राउ परेका छन् ।

त्यस्तै, पक्राउ पर्ने अन्यमा विराटनगर–१३ का २८ वर्षीय सुरज मण्डल (प्र १–०२–००३ ह ६२३९), विराटनगर–९ का ४२ वर्षीय रजक मियाँ (प्र ०२–००२ ह ९३६२), विराटनगर–६ का २४ वर्षीय शिवम साह (प्र १–०३–००३ ह ७४९१) र विराटनगर–८ का २३ वर्षीय आयुष घिमिरे (प्र १–०२–००४ ह ८३१०) रहेका छन् । सुभाष यादवबाहेक पक्राउ पर्नेहरु सबै सिटी सफारी चालक हुन् ।

लागुऔषध सेवन गरेको पुष्टि भएपछि चालकहरूलाई सम्बन्धित सवारी साधनसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । पछिल्लो समय जिल्लाका मुख्य राजमार्ग तथा भित्री सडकमा मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिका कारण सवारी दुर्घटना बढ्दै गएको देखिएकाले दुर्घटना न्यूनीकरणका लागि विशेष चेकजाँचलाई निरन्तरता दिइएको उनको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले सम्पूर्ण सवारी चालकलाई मापसे र लापसे गरेर सवारीसाधन नचलाउन आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न पाइए कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेका छन् । साथै, कसैले मापसे र लापसे गरी सवारी चलाएको जानकारी भएमा वा शंका लागेमा तत्काल प्रहरीलाई सूचना दिन कटवालले सबैमा आह्वान गरेका छन् ।

उनका अनुसार त्यस्तो सूचना नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा दिन सकिने छ । ‘सवारी चालकमा मापसे र लापसे गर्ने प्रवृत्ति बढ्दै गएपछि पाइएपछि प्रहरीले कडाइ गरिरहेको छ । त्यसले दुर्घटना न्यूनीकरणमा मद्धत पुग्छ,’ एसपी कटवालले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.